प्रेमराज सिम्खडा
कालीकोट, मङ्सिर २५ गते। कालीकोट जिल्लाको शुभकालीका गाउँपालिकाको एक वर्षको बेरुजु तीन करोड ३२ लाख पुगेको छ। आर्थिक वर्ष २०८०-८१ को लेखा परीक्षणबाट तीन करोड ३२ लाख ९६ हजार ७०२ रुपियाँ थपिएसँगै हालसम्मको बेरुजु रकम २१ करोड १२ लाख ७० हजार ६९४ रुपियाँ पुगेको छ।
यो आर्थिक वर्षमा महालेखा परीक्षकको कार्यालयले ९८ करोडको लेखा परीक्षण गरेको छ । उक्त रकमबाट पाँच करोड ४३ लाख २५ हजार बेरुजु भेटिएपछि केही रकम भने मिलान भएको प्रतिवेदनमा उल्लेख छ।
हचुवाको भरमा भुक्तानी दिनेदेखि जनप्रनिधिका घर परिवार, आफन्तलाई गरिएको सहयोगका कारणले गाउँपालिकाको बेरुजु थपिँदै गएको कर्मचारीको भनाइ छ। एक कर्मचारीले भन्नुभयो, ‘महालेखाले १३ लाख ३६ हजार २६४ रुपियाँ असुलउपर गर्नुपर्ने भनेको छ।’
भ्रमण खर्चमा ५२ लाख
गाउँपालिकाले एक आर्थिक वर्षमा ५२ लाख ५६ हजार ४८९ रुपियाँ भ्रमण खर्च गरेको छ। यो रकम कर्णाली प्रदेश अन्तर्गत स्थानीय तहका पदाधिकारी तथा सदस्यले पाउने सुविधा सम्बन्धी ऐन २०७७ तथा भ्रमण खर्च नियमावली २०६४ विपरित भएको महालेखा प्रतिवेदनमा उल्लेख छ। आफ्नो व्यक्तिगत कामका लागि सहरमा जाने र पालिकाबाट भ्रमण आदेश स्वीकृत गराएर विकास बजेटको दुरुपयोग भइरहेको कर्मचारीले बताउने गरेका छन्।
शुभकालिका गाउँपालिकाले औषधी उपचार, आर्थिक साहयतातर्फ २१ लाख ४९ हजार ७२५ रुपियाँ खर्च गरेको छ। यो रकम वितरण गर्दा आर्थिक वर्षको अन्तमा बिना कार्यविधि र चिकित्सकको सिफारिस नभएर जनप्रनितिधिका आफन्तदेखि कर्मचारीसम्मलाई आर्थिक साहयता दिएकाले यो खर्च नियम विपरित भएको महालेखाको प्रतिवेदनमा उल्लेख छ। वडा नं ४ का नन्दबहादुर शाहीलाई चार लाख आर्थिक सहायता दिइएको छ।
बगैँचामा आगो लागेको भनेर भुक्तानी दिएको भए पनि प्रहरी मुचुल्का र जग्गाको लालपुर्जा समेत नराखेको पाइएको छ। यस्तै ठुलो रकम लिनेमा धनरुप आचार्य र दिपबहादुुर शाहीको नाममा जनही दुई लाख भुक्तानी भएको छ।
यस्तै बसन्ती शाही र सिहबहादुर शाहीका नाममा जनही एक लाख ५० हजार भुक्तानी भएको छ। गाउँपालिकाले इन्धनमा २२ लाख १६ हजार ९२१ र सवारी साधन मर्मतमा २८ लाख ८९ हजार ३१३ रुपियाँ खर्च गरेको छ।
आर्थिक साहयता, इन्धन, गाडी मर्मत र भ्रमण गरेर गाउँपालिकाले एक आर्थिक वर्षमा दुई करोड २५ लाख १२ हजार ४४८ रुपियाँ खर्च गरेको छ। खर्चको विषयमा भर्खरै आएकोले थाहा नभएको निमित्त प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रप्रसाद चौलागाईंले बताउनुभयो।