गोरखापत्र समाचारदाता
काठमाडौँ, मङ्सिर २६ गते । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन निवेदन दिएका दलको अन्तिम नामावली आज (शुक्रबार) प्रकाशन गर्दै छ । आयोगले शुक्रबार नै दललाई निर्वाचन चिह्नसमेत प्रदान गर्ने छ ।
समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालयका अनुसार बिहीबार दलहरूबाट नाम फिर्ता लिन चाहेमा फिर्ताका लागि निवेदन दिने कार्यक्रम रहेकामा कुनै दलबाट नाम फिर्ता लिने निवेदन आएको छैन । समानुपातिक निर्वाचन प्रणालीतर्फ कुल ९३ वटा राजनीतिक दलबाट दर्ताका लागि निवेदन परेको छ । परेको निवेदन उपर आयोगले छानबिन गरी चुनावमा भाग लिने दलको अन्तिम नामावली प्रकाशन गर्ने छ ।
नामावली प्रकाशन भएपछि आयोगले समानुपातिकतर्फ उम्मेदवारको बन्दसूची पेस गर्न करिब दुई साताको समय दिने छ । सोबमोजिम दलहरूले उम्मेदवारको बन्दसूची पुस १३ गते पेस गर्नुपर्ने छ । आयोगले प्रकाशन गरेको निर्वाचन कार्यक्रमबमोजिम प्रत्यक्ष निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम माघ ६ गतेदेखि मात्रै सुरु हुने छ ।