• २६ मङ्सिर २०८२, शुक्रबार

अध्यागमनका पूर्व प्रमुखसहित ७ जनामाथि घुसकाण्ड र ‘मनी लाउन्डरिङ’ मुद्दा

blog

गोरखापत्र अनलाइन 

काठमाडौं, मङ्सिर २५ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अध्यागमन कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका तत्कालीन प्रमुख अध्यागमन अधिकृत तिर्थ राज भट्टराईसहित ७ जनामाथि घुस लिई–दिई भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ।

अख्तियारले सार्वजनिक गरेको विवरणअनुसार भट्टराईले २०८१ असोज २३ गतेदेखि २०८२ जेठ ७ गतेसम्म प्रमुख अध्यागमन अधिकृतको रूपमा कार्यरत रहँदा भिजिट भिसामा विदेशी रोजगारी वा भ्रमणका रूपमा नेपाली नागरिकलाई विदेश पठाउन विभिन्न एजेन्टसँग मिलेमतो गरी घुस रकम लिएको दाबी गरिएको छ।

‘सेटिङ’ बनाएर २५७ जना यात्रु पठाइएको आरोप

अनुसन्धानमा भट्टराईले ग्रिनलाइन होलिडेज प्रालिका अध्यक्ष बालकृष्ण खड्का र फेमिली होलिडेज ट्राभल्स एण्ड टुर्स प्रालिका सञ्चालक दिपक भण्डारीसँग मिलेर २५७ जना यात्रुलाई भिजिट भिसामा विदेश पठाउने प्रक्रिया सहज बनाउन घुस लिएको पुष्टि भएको आयोगको दाबी छ।

आयोगका सहायक प्रवक्ता गणेश बहादुर अधिकारीका अनुसार, भट्टराईले यात्रुको पासपोर्ट, भिसा, स्वघोषणा लगायत अनिवार्य कागजात अध्यागमन प्रणालीमा अपलोड नगरी, झन्झट सिर्जना गरी अतिरिक्त रकम असुल्ने ‘सेटिङ’ सञ्चालन गरेको अनुसन्धानले देखाएको आयोगले जनाएको छ।

घुस रकमसँग चलखेल : मोबाइल, डायरी र डिजिटल प्रमाण

अख्तियारका अनुसार भट्टराईले एजेन्टहरूले टिपाएका यात्रुहरूको नामावली डायरीमा राख्ने, महिला–पुरुष छुट्याई सोही संख्या अनुसार रकम गणना गर्ने, ‘क्लियर टु बाल्क’ जस्ता सांकेतिक शब्द प्रयोग गरी घुसको हिसाब किताब राख्ने गरेको प्रमाण फेला परेको छ।

त्यसैगरी, कविता पौडेलको नाममा दर्ता गरिएको मोबाइल सिम प्रयोग गरी भिजिट भिसाका यात्रुहरूका विवरण आदान–प्रदान गर्ने, प्राप्त रकम कविता पौडेल र खेम प्रसाद सुवेदीमार्फत जग्गा कारोवारमा लगानी गर्ने जस्ता कार्यमार्फत मनी लाउन्डरिङ गरेको आयोगको दाबी छ।

अनुसन्धानमा भट्टराईको मोबाइल र ल्यापटपबाट यात्रुहरूको पासपोर्ट प्रतिलिपि, घुसको हिसाबकिताब भएको डायरीका फोटोहरू, मेसेज आदान–प्रदान तथा डिलिट प्रयासको डिजिटल प्रमाणसमेत भेटिएको अख्तियारले उल्लेख गरेको छ।

पीडित यात्रुहरू विदेशीमा ठगिएको बयान

भिजिट भिसामा विदेश गएका केही यात्रुले अख्तियारमा उपस्थित भई आफूहरू ठगिएको, विदेशमा भनेको काम नमिलाएको, यातना भोग्नुपरेको र रकम फिर्ता माग्दा फिर्ता नपाएको बयान दिएका छन्।

सात व्यक्ति र दुई कम्पनीमाथि मुद्दा

आयोगले भट्टराईसहित यज्ञ राज अर्याल, बालकृष्ण खड्का, दिपक भण्डारी, राम खड्का, कविता पौडेल र खेम प्रसाद सुवेदीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ र सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ बमोजिम कारबाहीको मागसहित आरोपपत्र दायर गरेको हो।

त्यसैगरी, ग्रिनलाइन होलिडेज प्रालि र फेमिली होलिडेज ट्राभल्स एण्ड टुर्स प्रालिलाई पनि प्रतिवादी बनाइएको छ।

मागदाबी गरिएको बिगो र सजाय

  • तिर्थ राज भट्टराई – रु ७९ लाख ८० हजार बिगो, कैद, जरिवाना तथा रकम जफत
  • यज्ञ राज अर्याल– रु ८ लाख बिगो
  • बालकृष्ण खड्का (ग्रिनलाइन होलिडेज) – रु ३० लाख २० हजार बिगो

अन्य प्रतिवादीहरूमाथि पनि ऐनअनुसार कैद, जरिवाना र असुल–जफतको माग

अख्तियारले प्रस्तुत प्रमाण, बयान, डिजिटल फरेन्सिक र वित्तीय कारोबारको विश्लेषणबाट सबै प्रतिवादीले एक आपसमा मिलेमतो गरी घुस लिई–दिई भ्रष्टाचार गरेको तथा गैरकानुनी आम्दानी लुकाएर सम्पत्ति शुद्धीकरण गरेको पुष्टि भएको जनाएको छ। आरोपपत्र दायर भएसँगै अब मुद्दाको सुनुवाइ विशेष अदालत, काठमाडौंमा हुनेछ।