• ६ जेठ २०८१, आइतबार

भारतले निर्यातमा रोक लगाएपछि चिनीको मूल्य वृद्धि

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, असार १ गते । पछिल्लो दुई साताको बीचमा चिनीको मूल्य प्रतिकेजी १० रुपियाँसम्म महँगो भएको छ । भारत सरकारले चिनी निर्यात प्रतिबन्ध लगाएसँगै चिनी उद्योगी एवं व्यापारीले मनोमानी ढङ्गले चिनीको मूल्य वृद्धि गरेका हुन् । 

भारत सरकारले आफ्ना उपभोक्ता माग र खपतका आधारमा जेठ १८ गतेदेखि चिनी निर्यातमा प्रतिबन्ध लगाउँदै आएको छ । चिनी निर्यात नै बन्द भएको अवस्थामा व्यापारीले आफूसँग रहेको मौज्दात चिनीको मूल्य मनलाग्दी तरिकाले वृद्धि गरेको राष्ट्रिय उपभोक्ता अधिकार मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले बताउनुभयो । 

नेपालमा चिनी आउने भारतबाट हो, भारतले नेपाललगायतका देशमा चिनी निर्यातमा रोक लगाएको १५ दिन भयो, यो बीचमा चिनी त ल्याइएको छैन, अहिले बिक्री गर्दै आएको चिनी मौज्दात हो, मौज्दातको किन मूल्य बढ्यो सरकारका नियमनकारी निकायले खोज्नुपर्ने बताउनुभयो ।

नेपाल खुद्रा व्यापार सङ्घले पछिल्लो दुई साताको बीचमा चिनीको मूल्य थोकमै प्रतिकेजीमा आठदेखि नौ रुपियाँ बढिसकेको जनाएको छ । सङ्घका अनुसार दुई साताअघि प्रतिकेजी ९५ रुपियाँ रहेको चिनीको मूल्य अहिले बढेर खुद्रा मूल्य प्रतिकेजी १०५ रुपियाँ पुगेको छ । 

सङ्घका महासचिव आमुकाजी तुलाधरले थोकमै प्रतिकेजी ९६ रुपियाँ पर्न थालिसकेकाले त्यसमा ढुवानी र प्लास्टिकको पनि बढेको मूल्यसहित गर्दा प्रतिकेजी १०५ रुपियाँ कममा बिक्री गर्न नसकिने बताउनुभयो । 

चिनीको मूल्य बढ्दा खुद्रा व्यापारी दोहोरो तेहेरो मारमा परेको गुनासो गर्दै महासचिव तुलाधरले भन्नुभयो, पहिलो हामीले खरिद गर्दा थोकलाई तिरेअनुरूपको बिल बीजक पाउँदैनाैं, दोस्रो सरकारको नियमनकारी निकायले हामीलाई नै खरिद बिल नदेखाएको भनेर जरिवाना गर्छ, तेस्रो उपभोक्ताले हामीले नै बढाएको जस्तो गरी रिसाउँछन् ।

खाद्य तथा किराना थोक व्यापार सङ्घले चिनीको मूल्य थोकबाट होइन उद्योगबाटै बढेर आएको जनाएको छ । चिनी उद्योगी भने यो कुरा स्वीकार गर्न तयार छैनन् । लागत मूल्य बढी परेका कारण मूल्य बढाउनुपरेको चिनी उद्योगीले बताउँदै आएका छन् । 

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक लीलाप्रसाद शर्माले चिनीको मूल्य अनुगमनका क्रममा खुद्रा र थोकभन्दा उद्योगमै भएको ठहर गरेको बताउनुभयो । चिनी उद्योगीसँग मूल्य बढ्नुको कारण माग्ने तयारी गरेको उहाँले बताउनुभयो ।  

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअनुसार बजारमा ४८ हजार मेट्रिक टन चिनी मौज्दात रहेको बताउँदै आएको छ । वाणिज्य मन्त्रालयका सहप्रवक्ता उर्मिला केसीले लगभग तीन महिनालाई पुग्ने चिनी मौज्दात रहेकाले चिनी लुकाएर कालोबजारी गर्नेलाई कारबाही हुने बताउनुभयो । यता चिनी उद्योगीले भारतले निर्यातमा प्रतिबन्ध लगाए पनि तत्काल बजारमा चिनीको अभाव नहुने दाबी गरेका छन् । नेपालमा वार्षिक दुई लाख ८० हजार मेट्रिक टन चिनीको माग छ ।