• २ असार २०८२, सोमबार

उत्पादकत्व वृद्धि गरेर मुलुकको अर्थतन्त्रमा योगदान दिन सक्नुपर्छ : मन्त्री भण्डारी

blog

पाटन (ललितपुर), असार २ गते । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उत्पादकत्व वृद्धि र रोजगारी सृजना गरेर मुलुकको अर्थतन्त्रमा योगदान दिन सक्नुपर्ने बताउनुभएको छ ।

ललितपुर महानगरपालिकाद्वारा आज एकान्तकुनामा आयोजित चौथो महिला उद्यमी सम्मेलनको उद्घाटन गर्दै मन्त्री भण्डारीले अरू देशका बजार नेपाल बन्ने समस्यालाई हामीले नेपालभित्रै साना, लघु र घरेलुु उद्योगको प्रवर्धनबाट समाधान गर्नुपर्ने बताउनुभयो ।

“हामी मेड इन नेपालको उत्पादनलाई खरिद गर्ने छौँ, हरेक जनप्रतिनिधि र कर्मचारीले पाउने पोसाक भत्ताले नेपाली उत्पादनहरु खरिद गर्नुपर्छ, हाम्रो दैनिक जीवनमा नेपालका उत्पादनले प्राथमिकता पाउनुपर्छ, हाम्रो उत्पादनको ब्रान्डिङ पहिलो प्राथमिकता हो, बजेटमा उद्यमशीलतालाई प्राथमिकतामा राखिएको छ, कानुन, विधि र नीतिगत रूपमा सम्बोधन गरेर उपलब्धि हासिल गर्नु छ, थुप्रै कानुनका सुधारहरू सरकारले गरेको छ, लगानीमा क्षेत्रहरू पहिचान गरेर प्राथमिकतामा राख्न सरकारले जोड दिएको छ ।” 

मन्त्री भण्डारीले महिलाले सञ्चालन गर्ने उद्योगमा सरकारले कर छुटको सहुलियत दिएको छ भन्दै उद्योग मन्त्रालय नेपालको जिडिपीमा उद्योगको योगदान बढाउन नीति र कानुनमा सहुलियत दिने कुरामा ध्यान दिएर लागेको छ भन्नुभयो ।

“बजेटमा रोजगारी सृजना गर्ने, उद्यमशीलता वृद्धि गर्ने, राष्ट्रिय आवश्यकता पूरा गर्ने विषयलाई समेटिएको छ, स्टार्टअप र रचनात्मक उद्यमशील परियोजनालाई २५ लाखसम्म दिने कार्यक्रम समावेश गरेका छौँ, महिलालाई उद्यमशीलतातर्फ आकर्षित गर्नुपर्छ”, उहाँले भन्नुभयो ।

नेपालको उद्यमशीलताको विकासमा ललितपुरका उद्यमीको महत्त्वपूर्ण योगदान रहने उल्लेख गर्दै मन्त्री भण्डारीले उत्पादन र उत्पादकत्व वृद्धि गर्ने तथा सफल हुने क्रममा कति उद्यमी र उत्पादन वृद्धि गर्न सक्यो भन्ने भूमिका महत्त्वपूर्ण हुन्छ भन्नुभयो ।

विश्वमा आफ्नो उत्पादनको बजारीकरण र ब्रान्डिङ गर्ने सन्दर्भमा प्रतिस्पर्धा चलिरहेको उल्लेख गर्दै उहाँले यो प्रतिस्पर्धामा नेपालले सामेल हुनुपर्नेमा जोड दिनुभयो । “लघु घरेलु कोष स्थापना गरेका छौँ, सार्वजनिक निकायमा स्वदेशी उत्पादनको प्रयोगसम्बन्धी कानुन ल्याएका छौँ, पहिलो बजार राष्ट्रिय बजार नै हो, राज्यका निकायमा बसेकाहरूले यसको प्रवर्धन गर्नुपर्छ”, उहाँले भन्नुभयो ।

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले नेपालकै सबैभन्दा जेठो स्थानीय पालिकाले गर्ने काम अरू स्थानीय तहले अनुसरण गर्ने खालको हुनुपर्छ भन्दै यसका लागि सबै कर्मचारीले ध्यान दिएर कार्यसम्पादन गर्न आग्रह गर्नुभयो । 

“ललितपुर महानगरको उत्पादनलाई देशैभर चर्चा कमाउने गरी उत्कृष्ट बनाउन लाग्नुस्, हामी समस्या सम्बोधन गर्न तयार छौँ,, प्रमुख महर्जनले भन्नुभयो ।

जिल्ला समन्वय समिति ललितपुरका प्रमुख ऋषिदेव फुयालले महिलाले आफूले उत्पादन गर्ने सन्दर्भमा भोगेका समस्या समाधान गर्न, पूँजी, सीप, प्रविधि र बजारको व्यवस्थापन गर्न यो उद्यमी सम्मेलनले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो । उद्योगधन्दा र कलकारखानाको विकासले नै नेपालको समृद्धि हुने भन्दै उहाँले यसका लागि सङ्घ र प्रदेश सरकारबाट पर्याप्त काम हुने अपेक्षा राख्नुभयो ।

महानगरका उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले उद्यम, उत्पादन र रोजगारीलाई प्राथमिकता दिएर लागेका महिलालाई प्रोत्साहन गरेर राज्यको अपेक्षाअनुसार समृद्धि हासिल गर्न लाग्नुपर्ने तथा हाम्रो महानगर, राम्रो महानगर बनाउन लाग्नुपर्नेमा जोड दिनुभयो ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत रेखादास श्रेष्ठले महिलाको उद्यमशील भनेको एक जना व्यक्तिको सफलता मात्रै नभई परिवार र समुदायको सफलता भएको बताउनुभयो । उहाँले यस महिला उद्यमी सम्मेलनबाट उद्यमशीलताका क्षेत्रमा उत्कृष्ट काम र उत्साहजनक उपलब्धि हासिल हुने विश्वास व्यक्त गर्नुभयो । रासस