हरिप्रसाद कोइराला
उर्लाबारी, साउन १५ गते । ओठमाथि जुँघाको रेखी बस्दै गर्दा १९ वर्षको उमेरमा खोटाङको दिक्तेलबाट वैदेशिक रोजगारीमा दुबई गएका रामकुमार दाहाल यतिबेला केराको दाम्चाबाट रेसा निकालेर नेपालमै खाडीको कमाई खोजिरहनुभएको छ ।
वैदेशिक रोजगारीमा १५ वर्षको अनुभव बटुल्नुभएका दाहाल अहिले ३५ वर्षको हुनुभयो । गत वर्षको दसैँमा घर फर्केपछि स्वदेशमै केही उद्यम गर्ने मनसायले उहाँ खेर गएका केराका थामबाट रेसा निकाल्ने उद्यममा लाग्नुभएको छ । विदेशको कमाइले मोरङको कानेपोखरी–७, चालिसबिघेमा घरखेत जोड्नुभएका दाहाल अहिले सोही स्थानमा केराको दाम्चाबाट रेसा (धागो) निकालेर बिक्री गरिरहनुभएको छ । त्यसका लागि उहाँले अढाई लाख रुपियाँ खर्चेर रेसा निकाल्ने मेसिन खरिद गर्नुभयो ।
गाउँमा केराको व्यावसायिक खेती हुने गरेको छ । वरिपरि सय बिघाभन्दा बढी जग्गामा केरा खेती हुने गरेकाले उहाँलाई कच्चा पदार्थको अभाव कहिल्यै भएको छैन । सुरुका
दिनमा निःशुल्क पाइने केराको थाम पनि अहिले बिघाको सात हजार रुपियाँका दरले किन्नुपर्ने भएको छ ।
दाहालले भन्नुभयो, “फल निकाल्ने बित्तिकै खबर आउँछ । थाम ल्याएर दाम्चा निकाल्दै मेसिनमा हाल्नु पर्छ । त्यसपछि घाममा सुकाउनु पर्छ ।” दाहालका अनुसार रेसाको बजार मूल्य प्रतिकेजी १५० रुपियाँ छ ।
गत माघदेखि हालसम्म सात सय किलो रेसा बिक्री गरिसकेको दाहालले जानकारी दिनुभयो । अरू तयारी हुँदै छ ।
सुरुका दिनमा दुई जना कामदार राखेर रेसा निकालेका दाहालले मौसम प्रतिकूल भएपछि परिवारका सदस्यले मात्र काम गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “घाममा मज्जाले नसुकाए कुहिन सक्छ । मौसम अनुकूल भएपछि कामदार राखेर नेपाली कागज र कम्पोस्ट मल उत्पादन गर्ने तयारी गरिरहेको छु । छ/सात महिनाको अनुभवले महिनाको ४०/४५ हजार रुपियाँ कमाउन विदेश गइरहनु नपर्ने रहेछ भन्नेमा पुगेको छु ।” २०/२२ लाख लगानी गरेर व्यवसाय थाल्ने तयारी गरेका दाहालले भन्नुभयो, “व्यवसाय चलेन भने पासपोर्ट छँदै छ । फेरि लाग्ने हो, खाडीतिर ।”