• २० असार २०८१, बिहिबार

एसियन कप छनोट : इन्डोनेसियासँग नेपालको लज्जास्पद हार

blog

काठमाडौं, असार १ गते । एएफसी एसियन कप छनोटको तेस्रो चरणको अन्तिम खेलमा नेपालले इन्डोनेसियासँग लज्जास्पद हार खेपेको छ । कुवेतको जाबिर अल अहमद स्टेडियममा मंगलबार राति भएको खेलमा नेपाल इन्डोनेसियासँग ७-० गोलले पराजित भयो । 

१० खेलाडीमा समेटिएको नेपालमाथि इन्डोनेसियाले खेलभर दबदबा कायम राख्यो । पहिलो हाफमा दुई गोल खाएको नेपालले दोस्रो हाफमा पाँच गोल व्यहोरेको थियो । ३३औं मिनेटमा नेपालका रक्षक सुमन अर्यालले दोहोरो पहेँलो (रातो) कार्ड पाउँदै बाहिरिएपछि नेपाल १० खेलाडीमा समेटिएको थियो । जसको फाइदा इन्डोनेसियाले भरपुर उठायो । 

इन्डोनेसियाका लागि विटान सुलेमानले दुई गोल गर्नुभयो । डिमास ड्राजाड, फेचरुदिन आर्यान्टो, सादिल रामदानी र इल्कान बागोट, मार्सिलेनो फर्डिनान्डले एक एक गोल गर्नुभएको थियो । लगातार तेस्रो हारसँगै समूह  ‘ए’ मा नेपाल तालिकाको अन्तिममा रह्यो । 

नेपाल पहिलो खेलमा जोर्डनसँग २–० र दोस्रो खेलमा कुवेतसँग ४–१ गोलले पराजित भएको थियो । जोर्डन नौ अंक सहित समूह ‘ए’ को विजेता बन्दै एसियन कपमा छनोट भयो । ६ अंक बनाएको इन्डोनेसिया दोस्रो र  तीन अंकसहित कुवेत तेस्रो स्थानमा रह्यो । एएफसीका अनुसार समूहको शीर्षटोली र पाँच समूहको उत्कृष्ट उपविजेता टोली सन् २०२३ मा चीनमा आयोजना हुने एसियन कपका लागि छनोट हुनेछन् ।