• ४ जेठ २०८१, शुक्रबार

गर्मी झन् बढ्दा बाँकेका विद्यालय थप चार दिन बन्द

blog

सिराज खान 

नेपालगञ्ज, जेठ ३१ गते । अत्यधिक गर्मी बढेपछि बाँकेका चार स्थानीय तहले पाँच पाँच दिन विद्यालय बन्द गरे पनि गर्मी बढ्दै गएकोले थप चार दिन विद्यालय बन्द गर्ने निर्णय मङ्गलबार गरिएको छ । 

अत्यधिक गर्मी र तातो हावा लु ले विद्यार्थी बिरामी पर्न थालेपछि नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, खजुरा गाउँपालिका, डुडुवा गाउँपालिका र जानकी गाउँपालिकाले जेठ २७ गतेदेखि ३१ गतेसम्म बिदा दिएर पाँच दिन विद्यालय बन्द गरेका थिए । 

तर, अझै पनि गर्मी नघटेको र झन् बढेको देखिएकाले थप चार दिन विद्यालय बन्द गर्ने निर्णय गरिएको हो ।

नेपालगञ्ज, खजुरा, डुडुवा र कोहलपुरले विज्ञप्ति प्रकाशित गरेर गर्मी घट्नुको साटो झन् बढ्दै गएकाले बालबालिकाको स्वास्थ्यलाई ध्यानमा राखेर हाल दिइएको बिदा बढाउँदै असार ३ गतेसम्म कायम गरिएको जनाएका छन् । 

अब विद्यालय असार ५ गते आइतबारबाट सञ्चालन गरिने जानकारी पनि ती स्थानीय तहहरुले गराएका छन् । 

नेपालगञ्जका केही विद्यालयहरुले स्थानीय तहको निर्णय भन्दा अघि नै गर्मीलाई हेरेर असार ३ गतेसम्मका लागि विद्यालय बन्द राख्ने निर्णय गरेर विद्यार्थी र अभिभावकलाई जानकारी पठाइसकेका थिए । 

मनसुन शुरु नभई वर्षा नभएकाले गर्मी झनै बढेर गएकाले आफूहरुले विद्यालय थप केही दिन बन्द गर्न स्थानीय सरकार र विद्यालयलाई आग्रह गरेको नेपालगञ्ज १ का जीवन शर्माले बताउनुभयो । 

उहाँले अहिलेको प्रचण्ड गर्मी र तातो हावामा बालबालिकालाई विद्यालय पठाउन नसकिने अवस्था रहेकाले नै यो आग्रह गरिएकोमा सुनुवाइ भएकोमा खुशी लागेको बताउनुभयो । 

यसैबीच, नेपालगञ्जका विभिन्न अस्पताल र क्लिनिकहरुमा गर्मी लागेर बिरामी परेका बालबालिका पुग्ने क्रम पनि बढ्दै गएको छ । शुभकामना मेडिकल हलमा क्लिनिक सञ्चालन गर्नुभएका वरिष्ठ बाल रोग विशेषज्ञ डा. शकील अहमदले अहिले केही दिनयता अत्याधिक गर्मी बढेका कारण धेरै बालबालिका बिरामी भएर आउने गरेको बताउनुभयो । उहाँले पेट दुख्ने, खाना नपच्ने, वान्ता, पखाला र छालासम्बन्धी रोगका बिरामी बालबालिका सबैभन्दा बढी आउने गरेको जनाउँदै आफ्ना बाबु नानीलाई गर्मीबाट जोगाउन आग्रह गर्नुभएको छ ।  

विद्यालय थप बन्द गर्ने निर्णय गरेको नेपालगञ्ज उपमहानगरपालिका । 

तस्विर ः सिराज खान । नेपालगञ्ज