• २९ जेठ २०८२, बिहिबार

बढ्यो डेङ्गु सङ्क्रमण

blog

काठमाडौँ, जेठ २८ गते । बढ्दो गर्मीसँगै डेङ्गु सङ्क्रमण बढ्न थालेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार यो वर्ष मङ्गलबारसम्म एक हजार २८१ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । 

महाशाखाका निर्देशक डा. चन्द्रभाल झाले यो वर्ष डेङ्गुको सङ्क्रमण ७२ जिल्लामा फैलिसकेको जानकारी दिँदै सबैभन्दा बढी डेङ्गुको पुष्टि काठमाडौँमा भएको बताउनुभयो । झाका अनुसार मनाङ, रसुवा, डोल्पा, हुम्ला र महोत्तरी जिल्लामा डेङ्गु पुष्टि भएको छैन । 

प्रदेश अनुसार सबैभन्दा धेरै बागमती प्रदेशमा डेङ्गु पुष्टि भएको छ । उहाँका अनुसार बागमतीमा ३४३, कोशीमा २४६, गण्डकी २३४, लुम्बिनी २०७, सुदूरपश्चिम १७४ र कर्णाली प्रदेशमा ६२ जनामा डेङ्गु पुष्टि भएको छ । सबैभन्दा कम सङ्क्रमण मधेश प्रदेशमा छ । मधेशमा १७ जनामा डेङ्गु पुष्टि भएको छ । मधेशमा गर्मी हुने भएकाले सबैभन्दा बढी डेङ्गु सङ्क्रमण मधेशमा हुनुपर्नेमा सबैभन्दा कम सङ्ख्या पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. झाले मधेश प्रदेशको रिपोर्ट कम भएर डेङ्गुको सङ्क्रमण हुने सङ्ख्या कम भएको हुन सक्ने जानकारी दिनुभयो । उहाँले जिल्लागत रूपमा सबैभन्दा बढी काठमाडौँमा १३६ जनालाई पुष्टि भएको छ । यस्तै, कास्की ९२, सुनसरी ८७, झापा ७६, पाल्पा ७६, रुपन्देही ४९, कञ्चनपुर ३७, दाङ ३२ र भक्तपुरमा ३० जनामा डेङ्गु पुष्टि भएको छ । डा. झाले गत वर्षभन्दा यो वर्ष डेङ्गु सङ्क्रमण कम पुष्टि भएको जानकारी दिनुभयो । उहाँले कात्तिकसम्म डेङ्गु सङ्क्रमण हुने भन्दै सतर्कता अपनाउन सुझाव दिनुभयो । 

डेङ्गु नियन्त्रणका लागि स्थानीय निकायमा आठ करोड बजेट छुट्याइएको छ । डा. झाले महाशाखाले डेङ्गुबाट बँच्नका लागि सचेतना कार्यक्रम, लामखुट्टेको लार्भा नष्ट गर्ने कामदेखि निगरानी बढाउने काम भइरहेको बताउनुभयो । 

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले सरकारले डेङ्गु नियन्त्रणलाई प्राथमिकता दिएको बताउनुभयो । उहाँले डेङ्गु नियन्त्रण गर्न घर घरबाटै सरसफाइ अभियान सुरु गर्नुपर्ने जानकारी दिँदै हरेक मानिसका घरमा डेङ्गुको लार्भा हुर्कन सक्ने वातावरण भएको हुनाले पहिले घरबाट लार्भा नष्ट गर्नुपर्नेमा जोड दिनुभयो । वर्षाको मौसममा डेङ्गुको सङ्क्रमण फैलन सक्ने सम्भावना प्रबल रहेको भन्दै उहाँले डेङ्गु नियन्त्रण गर्न पहिले आफ्नो घरबाटै सुरुवात गर्नुपर्ने बताउनुभयो । पोथी जातको लामखुट्टेले टोकेपछि अप्रत्याशित ज्वरो आउने, शरीरमा रगतको मात्रा कमी हुने जस्ता लक्षण देखा पर्छन् । 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चन्द्रभाल झाले मानिसका घरमा रहेको सफा पानी, गमला, टायर राख्ने ठाउँ, एयर कन्डिसन जस्ता स्थानमा एडिस प्रजातिको लामखुट्टे बस्ने भएकाले सर्वसाधारणले यस्ता ठाउँमा लामखुट्टेप्रति सचेत रहनुपर्ने बताउनुभयो । उहाँले लामखुट्टेको वासस्थान खोजेर लार्भा नष्ट गर्नका लागि ‘खोज तथा नष्ट गर’ कार्यक्रम सुरु गरिएको जानकारी दिनुभयो । उहाँले पोथी लामखुट्टेले सफा पानी जमेको स्थानमा, वर्षाको पानी जम्ने टिनका डब्बा, रङका खाली डब्बा, थोत्रो टायर, अलकत्रा वा मटितेलका खाली ड्रम, फूलदानी, गमला, पानीका ट्ङ्याकीमा फुल पार्ने जानकारी दिँदै डेङ्गु सारेको चारदेखि १० दिनमा लक्षण देखा पर्न थाल्ने बताउनुभयो । 

डेङ्गुका लक्षण 

डेङ्गु लागिसकेपछि मुख्य लक्षण एक्कासि उच्च ज्वरो आउनु हो । यो ज्वरो एकसातासम्म रहन्छ । यसबाहेक टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड–जोर्नी तथा मांसपेशी दुख्ने, शरीरमा बिमिरा आउने गर्छ । डेङ्गुका कारण वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तस्राव हुने, शरीरमा रगत जम्नेलगायतका लक्षण देखा पर्छन् ।

डेङ्गुबाट बच्ने उपाय

डेङ्गुबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नु पर्छ । लामखुट्टेको लार्भा नष्ट गर्नु पर्छ । पानी जम्न सक्ने भाँडा गमला, फूलदान, खाली बट्टा, अलकत्रा वा मटितेलका खाली ड्रम, गाडीका काम नलाग्ने टायर आदिमा पानी जम्न दिनुहुँदैन । पानी छोपेर राख्ने, लामखुट्टेले दिउँसो टोक्ने हुँदा दिउँसो बस्दा बाहुला भएको वा शरीर ढाकिने लुगा लगाउनु पर्छ । सुत्दा झुल प्रयोग गर्नु पर्छ । साना केटाकेटीलाई जुनसुकै समयमा पनि झुलभित्र सुताउनु पर्छ । बालबालिकालाई बाहुला भएको कपडा लगाउने, बाहिर खेल्न नपठाउने, लामखुट्टेको टोकाइबाट बच्न लामखुट्टे भगाउने मलम लगाउन पनि सकिन्छ ।   

Author
सरोज ढुङ्गेल

उहाँ गोरखापत्रका लागि स्वास्थ्य क्षेत्रको रिपोर्टिङ गर्नुहुन्छ ।