• १२ वैशाख २०८१, बुधबार

विश्व रक्तदाता दिवस

१८ वर्ष पुगेका स्वस्थ व्यक्तिलाई रक्तदान गर्न आह्वान

blog

काठमाडौं, जेठ ३१ गते। रक्तदाता राजेन्द्र श्रेष्ठले जेठ २८ गते रक्तदान गर्नुभएसँगै उहाँले आफ्नो जीवनमा एक सय पटक रक्तदान गरिसक्नु भएको बताउनुभयो। श्रेष्ठले २०४९ सालमा पहिलो पटक रक्तदान गर्नुभएको थियो। 

रक्तदाता श्रेष्ठ अहिले ६१ वर्षको हुनुहुन्छ। तर, उहाँको जोश जागर बयस्कको भन्दा कमछैन। तीन-तीन महिनामा रक्तदान गरेदेखि शारीरिक रूपमा आफूलाई निकै हल्का र फुर्तिलो महसुस हुने गरेको उहाँले अनुभव सुनाउनुभयो। उहाँले वर्षमा चार पटकसम्म रगत दिनुभएको बताउनुभयो। 

उहाँलाई अहिलेसम्म कुनै पनि औषधिको सेवन गर्न नपरेको र शारीरीक रुपमा आफू स्वस्थ्य रहेको उहाँ बताउनुहुन्छ। ३० वर्ष आगाडि एक जना आफन्तलाई पाठेघरको क्यान्सर भएर अस्पतालमा भर्ना भएपछि शल्यक्रिया गर्ने क्रममा रगतको आवश्यक परे पनि रक्तदान गर्न सुरु गर्नुभएको उहाँले सुनाउनुभयो। सुरुमा रक्तदान गर्नुपर्छ भन्दा डर लागेको अनुभव उहाँले सुनाउनुभयो। रक्तदान गर्दा शरीरिक रुपमा कमजोर भइन्छ, रिंगाटा लाग्छ र मृत्युसम्म हुन्नसक्छ भन्ने गतल प्रचार हुने गरेको उहाँ बताउनुहुन्छ।  ब्लड बैंकको जिम्मा पाएको रेडक्रससँग हाल केन्द्रीय रक्तसञ्चार सेवा र ५ वटा प्रादेशिक केन्द्र, २२ वटा जिल्लामा सेवा केन्द्र र ४० वटा स्थानमा आपतकालीन सेवा केन्द्र रहेका छन्। 

‘‘सुरुमा रगत दिँदा डर लागेको थियो। तर, पछि रगत दिन बसेपछि सियोले घोचेजस्तो भन्दा अरु केही भएन। मैले रगत दिँदा धेरै जनाको ज्यान बच्ने भए रक्तदान गर्छु भन्ने लागेर रक्तदान गर्न थाले’’, उहाँले सुनाउनुभयो।  रक्तदान गरेको कुरा आमाबुवालाई सुनाउदा गाली गर्नुभयो। उहाँको घरको नजिकै रक्तदान कार्यक्रमको आयोजना भैराख्थ्यो। त्यसले पनि रक्तदानप्रति उहाँमा उत्प्रेरणा थपिएको थियो। तीन महिनापछि पुन: रगत दिदाँ शारीरिक रुपमा कमजोर हुन्छ, मृत्युसम्म हुन्छ भन्ने कुरा भम्र रहेछ भन्ने कुरा प्रयोगात्मक रुपमै अभ्यास गरेका श्रेष्ठले युवालाई प्रत्येक तीन महिनामा रक्तदान गर्न अनुरोध गर्नुभयो। 

उहाँले साथीसँग मिलेर २०४९ सालमा ब्लड डोनर एसोसियसन नेपाललाई आधिकारीक रुपमा दर्ता गर्नुभयो।  संस्था दर्ता गर्नुको मुख्य उदेश्य रगत आवश्यता भएको अवस्थामा हुँदा सुलभ रुपमा उपलब्ध होस् भन्ने रहेको उहाँ बताउनुहुन्छ। हाल उहाँ एसोसियसनको केन्दीय सल्लाहकार हुनुहुन्छ। हिजाेआज पनि हाम्रो समाजमा रक्तदानबारे बुझाउन निकै गाह्रो हुने उहाँको बुझाइ छ। उहाँ भन्नुहुन्छ,“अहिले पनि मानिसमा रक्तदान गर्नुपर्छ भन्ने विषयमा चेतनाको कमी भएको महसुस हुन्छ,  विभिन्न ठाउँमा क्याप गरेर रक्तदान गर्न अनुरोध गर्दा जान्ने बुझ्न नै हिचकिचाउने गरेको बताउनुहुन्छ।” ब्लड बैंकको जिम्मा पाएको रेडक्रसको तथ्याङक अनुसार हाल ०.८ प्रतिशत मात्र नियमित रक्तदाता रहेका छन्। उत्प्रेरण वृद्धी गरेर  नियमित रक्तदाताको संख्यालाई वृद्धी गर्नु मुख्य चुनौती रहेको छ। 

दुई प्रतिशत जनसंख्याले मात्रै रगत दान गरेमा रगतको अभाव हुँदैन। अहिले देशमा एक प्रतिशत भन्दा कमले नियमित रक्तदान गर्ने गरेको ब्लड डोनर एसोसियसन नेपालले जनाएको छ। 

१८ औं वर्षको जन्मदिन रक्तदान गर्नु: कर्माचार्य  

त्यसैगरी, रक्तदाता प्रेमसागर कर्माचार्यले अहिलेसम्म १७० पटक रक्तदान  गरिसक्नुभएको छ। उहाँले १६ वर्षको उमेरदेखि रक्तदान गर्न सुरु गरेकाे बताउनुभयो।  

५९ वर्षीय कर्माचार्य वर्षमा चार पटक रक्तदान गर्ने बताउनुहुन्छ। शारीरिक स्फुर्तिका लागि पनि युवाले रक्तदान गर्नुपर्ने आवस्यक भएको बताउनुहुँदै प्रत्येक युवाले १८ औं जन्मदिनमा रक्तदान गर्न अनुरोध गर्नुभयो। २०६२ माघ १५ मा नेपाल स्वयंसेवी रक्तदाता समाज संस्था स्थापना गरेर रगत सङ्कलन कार्यमा उहाँ निरन्तर लागि रहनुभएको छ। 

तीन लाख बढी युनिट रगत वितरण 

नेपाल रेडक्रस सोसाइटी अन्तर्गतको केन्द्रीय रगत ट्रान्सफ्युजन नेपालका कार्यकारी निर्देशक डा. प्रकाश यादवका अनुसार गत आर्थिक वर्षमा  तीन लाख १९ हजार युनिट रगत वितरण भएको थियो। त्यसै मध्ये दुई लाख ३६ हजार संकलन भएको डा. यादवले जानकारी दिनुभयो। 

नेपालमा एकिन रक्तदाताको तथ्यांक छैन। तर, रक्तदातामध्ये १५ देखि १७ प्रतिशत महिला र  बाँकी पुरुषको संख्या रहेको डा. यादवले जानकारी दिनुभयो। वार्षिक रुपमा रगत संकलन सन्तोषजनक भए पनि रगतको व्यवस्थापनमा भने समस्या भएकाले नेपालमा रगत अपुग देखिएको सरोकारवाला बताउछन्। 

रगत बनेको १० देखि १५ दिनमा रगत टुक्रा परेर पिसाबको माध्यमबाट खेर जाने भएकाले सबैलाई रक्तदान गर्न चिकित्सकको सुझाव छ। हरेक दुई मिनेटमा एक जना बिरामीलाई रगतको आवश्यक पर्ने तथ्याङक छ। अस्पतालमा भर्ना हुने हरेक १० जना बिरामीमध्ये  एक जना बिरामीलाई रगतको आवश्यक पर्छ।

एक जना रक्तादाताबाट प्राप्त एक युनिट रगतबाट तीन जनाको  जीवन बचाउन सकिन्छ। त्यसैले मंगलबार अर्थात् जेठ ३१ गते “रक्तदान गर्ने कार्यमा ऐक्यबद्धता जनाऔँ, जीवन बचाउने अभियानमा सहभागी हौँ”, भन्ने नाराका साथ ‘विश्व रक्तदाता दिवस २०२२’ मनाइदै छ। यस विषयमा गोरखापत्र अनलाइनकर्मीले गरेकाे भिडियो सम्वाद :


भिडियोः मनोजरत्न शाही/केशब गुरुङ


Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।