• १८ असार २०८१, मङ्गलबार

जिल्ला समन्वय समिति ओखलढुङ्गामा काँग्रेस निर्विरोध

blog

जिल्ला समन्वय समिति ओखलढुङ्गामा निर्विरोध निर्वाचित जनप्रतिनिधिहरू । तस्बिर ः शेरबहादुर राई

शेरबहादुर राई

ओखलढुङ्गा, जेठ ३० गते । जिल्ला समन्वय समिती ओखलढुङ्गामा नेपाली काँग्रेसको समूह नै निर्विरोध विजयी भएको छ । नेपाली काँग्रेसको तर्फबाट प्रमुखमा डिल्लीराम खनाल र उपप्रमुख तारा कार्कीसहितको उम्मेदवार समूह लै विजयी हुनुभएको हो ।  

जिसस सदस्यका उम्मेदवारहरु गोपालमान थापा, राजाबाबु किराँती, बद्रिबिक्रम कार्की, भीमकुमार गौतम, भीमकुमारी कटवाल (खत्री), भीमकुमारी कामी र मैया सुनुवार निर्विरोध निर्वाचित हुनुभएको नेपाली काँग्रेस प्रदेश कार्यसमिति सदस्य रुद्रप्रसाद अधिकारीले जानकारी दिनुभयो । 

आइतबार उम्मेदवारको मनोनयन पत्र दर्ताको समयभित्र नेपाली काँग्रेसबाहेकका अन्य दलहरुले जिसस निर्वाचनका लागि मनोनयन दर्ता नगरेपछि काँग्रेसका उम्मेदवारहरु निर्विरोध निर्वाचित हुनुभएको अधिकारीको भनाइ छ । निर्वाचित जिससका पदाधिकारीहरुलाई मुख्य निर्वाचन अधिकृतको कार्यालय ओखलढुङ्गाले सोमबार शपथ ग्रहण गराएको छ । 

बैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनबाट ओखलढुङ्गामा नेपाली काँग्रेसले जिल्ला समन्वय समिति गठनका लागि स्पष्ट बहुमत प्राप्त गरेको थियो । स्थानीय तहका प्रमुख–अध्यक्ष र उपप्रमुख–उपाध्यक्षले मतदान गर्ने जिससका लागि जिल्लामा नेपाली काँग्रेसको तर्फबाट नौजना मतदाता हुनुहुन्थ्यो । एक नगरपालिकासहित सात गाउँपालिकाबाट १६ जना मतदातामध्ये नेपाली काँग्रेस एक्लैको नौजना मतदाता हुनुहुन्थ्यो । 

यसैगरी, नेकपा एमालेका पाँच, माओवादी केन्द्र र जनता समाजवादी पार्टीबाट एक–एक जना हुनुहुन्थ्यो । नेपाली काँग्रेसले मानेभञ्ज्याङ्ग र सुनकोशी गाउँपालिकामा अध्यक्ष तथा उपाध्यक्ष दुवै जितेको थियो । 

यसैबीच, सिद्धिचरण नगरपालिकामा प्रमुख, खिजिदेम्बामा उपाध्यक्ष, चिशङ्खगढीमा उपाध्यक्ष, लिखुमा अध्यक्ष र चम्पादेवी गाउँपालिकामा अध्यक्ष काँग्रेसले जितेको थियो । नेकपा एमालले मोलुङ गाउँपालिकामा अध्यक्ष, उपाध्यक्ष दुवै, लिखुमा उपाध्यक्ष, चम्पादेवी गाउँपालिकामा उपाध्यक्ष र सिद्धिचरण नगरपालिकामा उपप्रमुख जितेको छ । माओवादी केन्द्रले चिशङ्खुगढीको अध्यक्ष र जनता समाजवादी पार्टीले खिजिदेम्बा गाउँपालिकाको अध्यक्ष जितेको छ । यसअघि २०७४ सालमा पनि ओखलढुङ्गामा नेपाली काँग्रेस एक्लैले जिसस गठन गरेको थियो ।