• १९ असार २०८१, बुधबार

निर्वाचनमा पार्टीभन्दा पनि समग्र देश विजयी भएको छ: अध्यक्ष प्रचण्ड

blog

पत्रकार सम्मेलनमा बोल्नुहुँदै माओवादी अध्यक्ष प्रचण्ड । तस्विर - सिराज खान । नेपालगञ्ज

सिराज खान 

नेपालगञ्ज, जेठ ३० गते । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घ र प्रदेशको निर्वाचन आगामी मङ्सिरको पहिलो सातामा हुने बताउनुभएको छ । 

बर्दियाको बारबर्दिया ११ बेलभारमा सोमबार प्रेस सेन्टर नेपाल बर्दियाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले निर्वाचन मङ्सिरमै हुने करिब करिब निश्चित भैसकेको जनाउँदै त्यसमा कुनै पनि आशङ्का नगर्न आग्रह गर्नुभएको छ । 

उहाँले यसअघि पनि निर्वाचन हुँदैन भन्ने हो हल्ला स्मरण गर्नुहुँदै स्थानीय तहको निर्वाचन समयमै सफलतापूर्वक सम्पन्न भएकाले त्यस्तो हल्ला गर्नेहरु ठेगान लागेको बताउनुभयो । 

निर्वाचनलाई एक चरणमा गर्ने कि दुई चरणमा गर्ने भन्ने विषयमा छलफल चलिरहे पनि आफूहरुले एकै चरणमा गर्ने कुरामा जोड दिएको उहाँको भनाइ छ । तर, सुरक्षाका कारणले दुई चरणमा गर्ने कुरालाई पनि आफूहरुले ध्यान दिने उहाँले बताउनुभयो । 

हालै सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा जनता र जनताले अघि सारेका एजेण्डाहरुको जित भएको दावी गर्दै अध्यक्ष प्रचण्डले सो निर्वाचनमा कुन दलले कति सिट जित्यो भन्दा पनि समग्र देशले जितेको बताउनुभयो । 

संविधानको रक्षा र परिवर्तनबाट प्राप्त उपलब्धिको रक्षाका लागि सफलतापूर्वक सो निर्वाचन सम्पन्न भएकाले त्यो सबै जनता र परिवर्तनकारीको जित भएको उहाँले बताउनुभयो । 

प्रतिगामीहरुले देशको संविधान नै समाप्त पार्ने षड्यन्त्र गरेकाले सो जोगाउने एक प्रमुख पात्रको रुपमा आफूले गठबन्धन निर्माण र निर्वाचन सम्पन्न गर्नका लागि प्रमुख भूमिका खेलेको प्रष्ट पार्नुभयो । 

सोही प्रकारले मंसिरमा हुने सङ्घ र प्रदेशको पनि निर्वाचन सफल हुने र त्यसपछि देश पाँच वर्षका लागि प्रतिगामी चलखेल र षड्यन्त्रबाट सुरक्षित हुने पूर्वप्रधानमन्त्री प्रचण्डले बताउनुभयो । 

बर्दियाको बारबर्दियास्थित बेलभारमा आयोजना गरिएको पार्टीको राजनैतिक प्रशिक्षण कार्यक्रममा सहभागी हुन सोमबार बिहान माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बर्दिया पुग्नुभएको हो ।