• १२ असोज २०८१, शनिबार

पहिरोको कारण बस्ती जोखिममा

blog

शेरबहादुर सार्की

बाजुरा, जेठ ३० गते । बाजुराको खप्तड छेडेदह गाउँपालिकाको वडा नं ५ को पारतोला बस्ती पहिरोको उच्च जोखिममा छ ।

मनसुन शुरु नहुँदै त्यो बस्तीमाथिबाट लगातार पहिरो बग्न थालेपछि सो बस्ती अहिले जोखिममा रहेको हो ।

गत वर्षको साउन २५ गते राती परेको अविरल वर्षाका कारण गाउँमाथिबाट पहिरो लागेपछि त्यहाँका स्थानीयहरुले घर छोडेर लेखमा बस्दै आएका थिए ।

यो बर्खामा त पहिरो नलाग्ला भन्ने सोचमा गाउँ फर्केका सो बस्तीका स्थानीयको यति बेला मनसुन शुरु नहुँदै गाउँको माथिबाट पहिरो बग्न थालेपछि गत वर्खा झैं यति बेला पनि घर छोडेर अन्य सुरक्षित स्थानमा जान बाध्यता बनाएको छ ।

सधैँ बर्खामा त्रसित बन्दै गएका सो बस्तीका स्थानीयहरु यो वर्षमा पनि पहिरोले फेरि त्रर्साउन थालेपछि उनीहरुलाई कता गएर जीउ जोगाउने भन्ने चिन्ता परेको स्थानीय बताउँछन् ।

हिउँदमा त पानी कमै परेको हुनाले गाउँमै बसियो, यति बेला त अहिले नै पहिरो लाग्न शुरु भएपछि अव कता गएर कसरी रात बिताउन निकै गाह्रो भएको खप्तड छेडेदह गाउँपालिका वडा नं ५ का स्थानीय तुलक्षा रावतले बताउनुभयो ।

उहाँले भन्नुभयो, “गत वर्ष गाउँमा पहिरो आउँछ भन्ने डरले लेखमा त्रिपाल हालेर बास बसियो फेरि यति बेला पनि वर्षा शुरु नहुँदै पहिरो बग्न थालेपछि बस्ती नै कतिखेर पुरिने हो भन्ने चिन्ता छ ।’’

उसो त खप्तड छेडेदहको ५ को पारतोला, डोगडी गायतका दर्जनाैं बस्ती वर्खाको बाढीपहिरोको कारण निकै जोखिममा छन् ।

गत साउनदेखि भदौसम्मको लगातार वर्षाका कारण शुरु भएको त्यो पहिरो जेठ महिना सकिन लाग्न थालेपछि अहिले त्यो बस्तीका झण्डै पचास भन्दाबढी घरपरिवार जोखिममा रहेको खप्तड छेडेदह गाउँपालिका अध्यक्ष दिलबहादुर रावतले बताउनुभयो ।

बस्तीसँगै डोगडी स्वास्थ्यचौकी, विद्यालय पनि त्यो पहिरोको उच्च जोखिममा छन् । उपचारका लागि स्वास्थ्य चौकीमा आउने बिरामीहरु पनि पहिरोले निकै त्रसित बन्ने गरेका छन् । 

पूर्वतयारीका लागि स्थानीय तहको विपद् व्यवस्थापन समिति र त्यहाँका स्थानीयलाई सजग रहन आग्रह गरेको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।

त्यो बस्तीलाई अन्य सुरक्षित ठाउँमा स्थानान्तरण लागि गृह मन्त्रालयलाई  समेत जानकारी गराइसकेको जिल्ला प्रशासन कार्यालय बाजुराका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले बताउनुभयो ।

पहिरोको उच्च जोखिममा रहेको खप्तड छेडेदह गाउँपालिका वडा नं ५ को पारतोला बस्तीसँगै रहेको स्वास्थ्य चौकी । तस्बिर ः शेरबहादुर सार्की ÷बाजुरा