• १९ असार २०८१, बुधबार

विपद् जोखिम पूर्वतयारी तथा प्रतिकार्यमा गम्भीर हुन निर्देशन

blog

काठमाडौं, जेठ ३० गते । गृहमन्त्री एवं विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिका अध्यक्ष बालकृष्ण खाणले मनसुनजन्य विपद्का घटनाहरुबाट जनधनको क्षति न्यून गर्न पूर्वतयारी तथा प्रतिकार्यमा गम्भीर भएर लाग्न सम्बन्धित मन्त्रालय, विषयगत निकायहरु तथा सुरक्षा निकायलाई निर्देशन दिनुभएको छ ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको आज बसेको १३ औं बैठकमा मन्त्री खाणले यो वर्षका लागि भएका तयारी, जनशक्तिको अवस्था एवं साधनस्रोतको विवरणसहितको विस्तृत कार्ययोजना आजै लिखित रुपमा मन्त्रालयमा पेश गर्न पनि निर्देशन दिनुभयो । बैठकमा मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०७९ लगायतका एजेण्डामा विस्तृत छलफल भएको छ ।

त्यस क्रममा मन्तव्य राख्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले प्रतिकार्यमा जिम्मेवार निकायहरुको आपतकालीन सम्पर्क नम्बरहरु सर्वसाधरणसम्म पुग्नेगरी सञ्चार गर्न सुझाव दिनुभयो । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले एकीकृत विकासमा विपद्सम्बन्धी विषयवस्तुलाई समावेश गरिनुपर्ने धारणा राख्नुभयो ।

मुख्यसचिव शङ्करदास बैरागीले उद्दार र राहतमा तलदेखि माथिसम्मका निकायबीच समन्वय र रणनैतिक स्थानहरुमा पर्याप्त मात्रामा उपकरणहरुको व्यवस्था गर्न आवश्यक रहेकोमा जोड दिनुभयो ।

कार्यक्रममा विभिन्न मन्त्रालयका सचिव, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरु, नेपाल रेडक्रस सोसाइटी एवं नेपाल चेम्बर अफ कमर्शका प्रतिनिधिहरुले आफ्ना मन्त्रालय तथा निकायबाट भएको पूर्वतयारीको अवस्था तथा प्रतिकार्यको योजनाबारे बैठकलाई जानकारी गराउनुभएको थियो ।