• २१ असार २०८१, शुक्रबार

चट्याङ प्रतिरोधी प्रणाली जडानले मानवीय क्षति शून्य

blog

विद्यालयमा जडान गरिएको चट्याङ प्रतिरोधी प्रणाली । तस्बिर ः धीरेन्द्रप्रसाद साह

धीरेन्द्रप्रसाद साह

राजविराज, जेठ २९ गते । मेघ गर्जन थालेपछि चट्याङ खस्ने सम्भावना बलियो रहन्छ । घर वा बाहिर चट्याङ जहाँ भए पनि पर्न सक्छ । चट्याङमा परेपछि प्रायः मृत्यु हुने गरेको कारण यसबाट जोगिन घर बाहिरका मानिसमा ओत लाग्न अतालिएर भागदौड मचिन्छ । 

खासगरी वर्षायाममा प्रायः दैनिक मेघ गर्जनसँगै चट्याङ पर्ने हुँदा मानवीय क्षति पनि भइरहेको हुन्छ । यसरी भइरहेको मानवीय क्षति कम गर्न चट्याङ प्रतिरोधात्मक प्रणाली मात्र सहारा बन्न सक्छ भने सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा प्रमाणित भइरहेको छ ।

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका १ तिलाठी बस्ने लक्ष्मण यादवकी १५ वर्षीया छोरीको खेतमा खाजा पु¥याउन गएको बेला २०७६ साल साउनमा चट्याङ लागेर मृत्यु भयो । सोही दिन वडा नं. ७ मन्सापुरमा चट्याङ लागेर एक महिलासहित दुईजना घाइते भए । 

प्रत्येक वर्ष असार साउन महिनामा तिलाठी कोइलाडी गाउँपालिकामा चट्याङको कारण मानिस घाइते हुने क्रम बढ्दो रहेको छ । चट्याङबाट घाइते हुनेको सङ्ख्या बढ्दै जाँदा विद्यालयमा अध्ययन गर्ने बालबालिकाहरुलाई सुरक्षित गर्नेतर्फ गाउँपालिकाले चासो लियो । 

गाउँपालिकाभित्र सामुदायिक तथा संस्थागत गरी ३० वटा विद्यालयमा अध्ययन गर्ने बालबालिकाको सङ्ख्या १५ हजार भन्दा बढी रहेको छ । यसैगरी, शिक्षक तथा विद्यालय कर्मचारी गरी करिब तीन सय पचास जना जनशक्ति रहेका छन् । आठ वटा वडामा रहेको स्वास्थ्य संस्थामा करिबजना स्वास्थ्यकर्मी र वडा कार्यालयहरुमा ३० जना कर्मचारी कार्यरत छन् । 

गाउँपालिकाले पहिलो चरणमा सबै सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिका तथा शिक्षक कर्मचारीलाई सुरक्षित गर्नुपर्ने आवश्यकता महसुस गरी चट्याङ प्रतिरोधी प्रणाली जडान गर्ने निर्णय ग¥यो । गाउँपालिकाद्वारा युनिसेफको सहयोगमा बालकेन्द्रित विपद् जोखिम न्यूनीकरण कार्यक्रम (सीसीडीआरआर) सञ्चालनमा रहेको छ ।

चट्याङ प्रतिरोधी प्रणाली जडान गर्न गाउँपालिकाले युनिसेफलाई सीसीडीआरआर कार्यक्रममार्फत सहयोग गर्न अनुरोध ग¥यो । 

युनिसेफले गाउँपालिकाको आग्रहबमोजिम दुई लाख ५० हजार रुपियाँ सिसिडिआरआर कार्यक्रममार्फत सहयोग उपलब्ध गराएपछि गाउँपालिकाले विपद् व्यवस्थापन शीर्षकतर्फ समेत दुई लाख ५० हजार रुपियाँ विनियोजन गरी सात वटा सामुदायिक माध्यमिक तथा आधारभूत विद्यालयमा चट्याङ प्रतिरोधी प्रणाली जडान गरिएको गाउँपालिकाका विपद् ब्यवस्थापन अधिकृत राजेशकुमार झाले बताउनुभयो । बाँकी रहेको १० वटा सामुदायिक विद्यालयहरुमा समेत सो प्रणाली जडान गर्न गाउँपालिकाले आवश्यक बजेट विनियोजन गरेको छ । 

गाउँपालिकाले सातवटा विद्यालयहरुमा चट्याङ प्रतिरोधी प्रणाली जडान गरेपछि ती विद्यालयका बालबालिका तथा शिक्षक कर्मचारीहरुसमेत सुरक्षित भएका छन् । २०७८ को असार र साउन महिनामा चट्याङबाट कुनै पनि बालबालिका प्रभावित भएनन् । 

एक हजार बालबालिका अध्ययनरत रहेको पब्लिक माध्यमिक विद्यालय लौनियाँ तिलाठीका प्रधानाध्यापक प्रभाष झा भन्नुहुन्छ, “वर्षायाममा बादल कड्किँदा हामी एकदमै त्रसित हुने गरेका थियौं तर यो प्रणाली जडान भएपछि हामी मात्र होइन विद्यालयमा अध्ययनरत बालबालिका समेत सुरक्षित भएको महसुस गरेका छौं ।” 

“विगत वर्षहरुमा वर्षातको समयमा हाम्रो विद्यालय आसपासको क्षेत्रमा चट्याङ पर्ने गरेको थियो तर यस वर्ष चट्याङ नै परेन”, प्रधानाध्यापक झाले बताउनुभयो ।

पालिकाभित्रका बाँकी रहेका १० वटा सामुदायिक विद्यालयहरुमा दोस्रो चरणमा र त्यसपछि स्वास्थ्य संस्था र वडा कार्यालयहरुमा सो प्रणाली जडान गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशवकुमार झाले बताउनुभयो । स्वास्थ्य संस्था र वडा कार्यालयहरुमा समेत सेवाग्राहीको भीडभाड रहने गरेको हुँदा ती संस्थाहरुलाई समेत चट्याङबाट सुरक्षित गर्नुपर्ने उद्देश्यले चट्याङ प्रतिरोधी प्रणाली जडान गरिने गाउँपालिका अध्यक्ष अरुणकुमार मण्डलले बताउनुभयो ।