• ८ जेठ २०८१, मङ्गलबार

भूक्षय र वातावरण जोगाउन वृक्षरोपण

blog

एक हजार पाँच सय बोट विरुवा निःशुल्क वितरण, तस्विर– देवरामप्रसाद यादव

देवरामप्रसाद यादव

सप्तरी, जेठ २९ गते । सप्तरीको खाँडौ नदीको तटीय भागमा अवस्थित लौनियाँलाई भूक्षय र वातावरण जोगाउने उद्देश्यले विभिन्न प्रजातिका बोट बिरुवा रोपिएका छन् । डिभिजन वन कार्यालय सप्तरीको सहयोग र गाउँपालिका तथा वडा नम्बर २ कार्यालयको सहकार्यमा एक हजार पाँच सय बोट बिरुवा निःशुल्क वितरण गरिएको हो ।

पहिलो चरणमा स्थानीय बासिन्दालाई आँप, कागती, लिच्ची, सरिफालगायतको विभिन्न प्रजातिका बोट बिरुवा वितरण गरिएको तिलाठी कोइलाडी गापा –२ का वडाध्यक्ष कमल मण्डलले जानकारी दिनुभयो ।

खाँडौ नदीको तटीय भागमा अवस्थित लौनियाँ गाउँमा बर्सेनि वर्षाको समयमा जमिन कटान र डुबानको समस्याबाट स्थानीय पीडित रहँदै आएकोमा केही वर्ष यता नदीका दुवैतर्फ तार, जालीबाट ढुङ्गाको क्रेटिङ् गरिएकाले सो समस्यामा केही मात्रामा स्थानीयले राहत पाएको वडाध्यक्ष मण्डलले बताउनुभयो ।