• १६ भदौ २०८१, आइतबार

पृथ्वी राजमार्गमा पहिरो : पहरो काटेर बाटो खोल्ने प्रयास

blog

सकड भासिएको ठाउँमा डोजरले पहरो काट्ने प्रयास गर्दै प्राविधिक। तस्बिर–अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, जेठ २८ गते। सडक भासिएको पृथ्वी राजमार्गको आँबुखैरेनी मुग्लिन सडकखण्डमा पहरो काटेर सडक फराकिलो पार्ने काम धमाधम भइरहेको छ। काम छिटो सम्पन्न गर्न रातको समयमा समेत पहरो काट्ने कार्य गरिएको छ।

 यात्रुलाई समस्या नपरोस् भनेर रातको समयमा समेत पहरो काट्ने काम भइरहेको इलाका प्रहरी कार्यालय बन्दीपुरका प्रहरी निरीक्षक हरिबहादुर क्षत्रीले जानकारी दिनुभयो।  सडक विभाग यान्त्रिक कार्यालय डुम्रे, तनहुँको डोजरको सहायतामा सडक माथिको पहरो काटेर फराकिलो पार्ने काम भइरहेको उहाँले जानकारी दिनुभयो। 

हाल सो क्षेत्रमा मोटरसाइकल, कार र माइक्रोबस जस्ता साना सवारी साधन सञ्चालनमा ल्याइएको क्षत्रीले जानकारी दिनुभयो। पहरो धेरै काट्दा सडक माथिबाट पनि पहिरो जाने जोखिम हुने भएकोले एकतर्फी रुपमा ठूला सवारी साधन सूचारु गर्न दुई वटा डोजरको प्रयोग गरेर काम भइरहेको क्षत्रीले जानकारी दिनुभयो। ठूला सवारी सञ्चालनमा ल्याउन अझै तीन दिन लाग्ने अनुमान प्रहरीको छ। 

तनहुँको आँबुखैरेनी खैरेनी गाउँपालिका–४ मस्र्याङ्दी जलविद्युत केन्द्रको ड्याम साइड नजिक शुक्रबार बिहान ४ बजे सडक भासिएकोले यातयात अबरुद्ध छ।  ‘ठूलो परिमाणमा सडक भासिएर मस्र्याङ्दी नदीमा खसेकोले यातायात बन्द छ। सडक मुनीको भाग भासिएपछि सडकमाथिको पहरोलाई डोजरको सहायतामा काटेर साना सवारी सञ्चालनमा आउने बाटो बनाइएको छ। सडकको भित्तो खोतल्ने कार्य हाल भइरहेको प्रहरीले जनाएको छ। 

पहिरोमा बा १० च ४६४९ नम्बरको कार र वा ३३ प १०८१ नम्बरको मोटरसाइकल पुरिएका थिए। पहिरोले पुरिएर गोरखाको बारपाक घर भएर हाल तनहुँको आँबुखैरेनी बजारमा बस्ने २९ वर्षीय केशव घिमिरे र हेटौंडा उपमहानगरपालिका-७ का ३५ वर्षीय हेमबहादुर भुजेलको मृत्यु भएको छ।