चितवन समाचारदाता
चितवन, जेठ ७ गते । जटिल प्रकारको बहुअपाङ्गता भएकी आफ्नो छोरी सामान्य अवस्थाकी हुन नसक्ने भन्ने भएपछि भरतपुर महानगरपालिका–२, क्षेत्रपुरकी सावित्री परियारले भन्नुभयो, “अवस्था देख्दा आशा मारेकी थिएँ, अहिले धेरै प्रगति भएको छ ।”
“म डिप्रेसनको स्थितिमा पुगेकी थिएँ, छोरीमा सुधार आएपछि अहिले धेरै खुसी भएको छु,” उहाँले भन्नुभयो । छोरी जन्मेको १८ महिनापछि असामान्य भएको थाहा पाएपछि धेरै ठाउँमा उपचार गर्न लगियो तर सुधार भएन । ११ वर्षसम्म घरमै छोरी हेरेर बसेकी परियारले भन्नुभयो, “कतैबाट निम्ता आउँदासमेत जान सकिनँ । अब यस्तै होला भन्ने लागेको थियो । घरनजिकैको विद्यालयमा यस्ता समस्या भएका बालबालिकालाई छुट्टै पढाइ हुन्छ भन्ने थाहा पाएपछि भर्ना गरिदिएँ । विद्यालयमा भर्ना गरेपछि दैनिक जीवनको सिकाइ गर्दा छोरीमा परिवर्तन भएको पाएकी छु । अहिले आफ्नो नाम लेख्न सक्ने भएकी छिन् । सामान चिन्न सक्छिन् । नयाँ मानिस आउँदा नमस्कार भन्न सक्ने भएकी छिन् । थेरापीसँगै सिकाइ हुँदा धेरै सुधार भएको पाएको छु ।”
उहाँ मात्रै होइन, उहाँ जस्तै अन्य अभिभावकले पनि यस्ता जटिल प्रकारका अपाङ्गता भएका आफ्ना बालबालिकालाई सामुदायिक विद्यालयमा पढाउँदै आउनुभएको छ । बालकुमारी माध्यमिक विद्यालय नारायणगढमा जटिल प्रकारका बहुअपाङ्गता भएका बालबालिकालाई अलग्गै राखेर निःशुल्क सिकाइ कार्यक्रम सञ्चालन गरिएको छ । २०७९ माघ १२ गतेबाट सञ्चालन भएको सिकाइ कार्यक्रममा अहिले २५ जनाले अध्ययन गर्दै आएका छन् ।
बालकुमारी माध्यमिक विद्यालय नारायणगढ, समावेशी शिक्षा परियोजना राष्ट्रिय बहिरा महासङ्घ नेपाल र भरतपुर महानगरपालिकाबिच त्रिपक्षीय सम्झौता भएर जटिल प्रकारको बहुअपाङ्गता भएका बालबालिकालाई सिकाइ सञ्चालन भएको हो । पाँच देखि १८ वर्ष उमेरका बालबालिकालाई विद्यालयमा सिकाइ गरिन्छ । विद्यालय ल्याउन नसक्नेका लागि घरमै सिकाइ कार्यव्रmम सञ्चालनसमेत गरिएको छ ।
विद्यालय ल्याउन सक्नेलाई छुट्टै स्थानमा उस्तै व्यवहार भएकालाई सँगै राखेर सिकाइ गरिँदै आएको छ । यसरी विद्यालयमा अध्ययन गर्दै आएका विद्यार्थीलाई अध्ययनसँगै दैनिक जीवनको सिकाइ गराइन्छ । सामग्रीको परिचय, मानिससँग बोल्ने शैली, अनुभूति, शारीरिक अभ्यासलगायतको काम सिकाउँदै आएको स्रोतव्यक्ति उषा नेपालले जानकारी दिनुभयो ।
विद्यालयमा ल्याउँदा र यहाँ आएपछि उनीहरूमा धेरै सुधार आएको प्राथमिक विद्यालय तहको प्रमुख शिक्षक विमला लौडारीले जानकारी दिनुभयो । “निरन्तरको सिकाइपछि लेख्न, पढाएको बुझ्न, दिएको गृहकार्य गर्न सक्ने भएका छन्,” उहाँले भन्नुभयो । “उस्तै समस्या भएकालाई राखेर सिकाउने र सिक्न सक्ने भएपछि सामान्य विद्यार्थीसँगै राखेर पढाउँदै आएका छौँ,” लौडारीले भन्नुभयो ।
अहिले मूलधारको शिक्षामा पाँच जनालाई पढाइँदै आएको छ । उनीहरूमा सिकाइको गति कम भए पनि सिक्न सक्ने अवस्था भएको छ । मूलधारको पढाइ गर्न सक्ने भएपछि कक्षा १ र २ मा अहिले अध्ययन गर्दै आएको उहाँले जानकारी दिनुभयो ।
समावेशी शिक्षा परियोजना राष्ट्रिय बहिरा महासङ्घ चितवनकी प्रमुख शर्मिला तामाङले चितवनका दुई वटा विद्यालयमा सिकाइ सञ्चालन भएको जानकारी दिनुभयो । बालकुमारी माध्यमिक विद्यालय नारायणगढ र कालिका नगरपालिकाको माध्यमिक विद्यालय रेडक्रस ग्राममा यस्तो सिकाइ सुरु भएको हो । दुई वटा विद्यालयबाट आठ जना बालबालिकाले मूलधारको शिक्षा लिइराखेको उहाँले बताउनुभयो । कालिका नगरपालिकामा १६ र बालकुमारी माध्यमिक विद्यालयमा २५ जना विद्यार्थीले शिक्षा पाएको उहाँले बताउनुभयो । सिक्दै गएपछि मूलधारको शिक्षामा लैजाने गरिएको छ ।
सिकाइ कार्यक्रम अन्तर्गत दैनिक जीवनमा आउने हरेक प्रकारको शिक्षा दिने गरिएको छ । आवाज पहिचान गर्ने, सामग्री छोएर भन्न लगाउने, विभिन्न रङ भएका बत्ती पहिचान गर्न लगाउने, खाने सामग्री देखेर भन्न लगाउने, सामान छोएर अनुभूति गर्न लगाउने जस्ता क्रियाकलाप गराइन्छ । उनीहरूको शारीरिक अवस्था अनुसारको फिजियोथेरापी गर्न लगाएर सामान्य अवस्थामा ल्याउने काम भएको छ ।