• २४ पुस २०८१, बुधबार

प्रधानमन्त्री देउवाद्वारा प्रेस युनियनका अध्यक्ष सिग्देललाई बधाई

blog

प्रधानमन्त्री शेरबहादुर देउवाले अन्तर्राष्ट्रिय पत्रकार महासंघ (आइएफजे)को कार्यकारी समिति सदस्यमा निर्वाचित भएकोमा नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देललाई प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बधाई तथा शुभकामना दिँदै । तस्बिरः रासस

काठमाडौं, जेठ २७ गते। प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देललाई अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ (आइएफजे)को कार्यकारी सदस्यमा निर्वाचित हुनुभएकामा बधाई दिनुभएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार भएको भेटमा प्रधानमन्त्री देउवाले उहाँलाई बधाई तथा शुभकामना  दिनुभएको हो। 

भेटमा प्रधानमन्त्री देउवाले नेपाल सरकार सदैव प्रेस स्वतन्त्रता र नागरिक अधिकारका पक्षमा प्रतिबद्ध रहेको बताउनुभयो। प्रधानमन्त्री देउवाले प्रेस युनियनले श्रमजीवी पत्रकारका पक्षमा गर्दै आएको काम सराहनीय भएको उल्लेख गर्दै युनियनको विश्व मञ्चमा प्रतिनिधित्व हुनु अझ खुशीको कुरा हो भन्नुभयो। 

साथै, उहाँले सरकार सञ्चारकर्मीलाई निष्पक्ष, स्वतन्त्र र भयरहित रुपमा काम गर्ने वातावरण ग्यारेण्टीका लागि सधैँ तयार रहेको विश्वाससमेत दिलाउनुभयो। 

अध्यक्ष सिग्देलले आइएफजेमा निर्वाचित भएपछि आफू थप जिम्मेवारीका साथ भूमिका निर्वाह गर्ने बताउँदै नेपाली श्रमजीवी पत्रकारको हकहितका सन्दर्भमा प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराउनुभएको थियो।

युनियनका अध्यक्ष सिग्देल ओमानको राजधानी मस्कटमा हालै सम्पन आइएफजेको विश्व कंग्रेसबाट एसिया प्यासिफिकअन्तर्गत दक्षिण एसियाबाट कार्यकारी सदस्यमा निर्वाचित हुनुभएको हो। 

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र परराष्ट्रमन्त्री डा. नारायण खड्काले पनि उहाँलाई बधाई दिनुभएको छ।  रासस