• १९ असार २०८१, बुधबार

सडक भासिएर मृत्यु भएका दुवै जनाको सनाखत

blog

पृथ्वीराजमार्ग भासिएर गएको पहिरो। तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, जेठ २७ गते। पृथ्वीराजमार्गमा पर्ने आँबुखैरेनी मुग्लिन खण्डमा सडक भासिएको स्थानमा सवारी खसेर मृत्यु भएका दुई जनाको सनाखत भएको छ। तनहुँको आँबुखैरेनी गाउँपालिका-४ मस्र्याङ्दी जलविद्युत केन्द्रको पावर हाउस नजिक राजमार्गमा खसेको पहिरोले च्यापिएर कारमा यात्रारत एक र स्कुटरमा सवार एक जनाको मृत्यु भएकाे थियाे। 

सडक भासिएको मस्र्याङ्दी नदी किनारमा दुई सवारी साधन देखेपछि उद्धारको लागि पोखरा र चितवनबाट गोताखोर टोली आएको थियो। सो टोलीले नदीमा खोजतलास गर्दा दुई शव फेला परेकाे हाे ।

दुवै शवको सवारी साधनको नम्बरको आधारमा आफन्तजन सम्पर्क गराई पहिचान गरिएको इलाका प्रहरी कार्यालय बन्दीपुरका प्रहरी निरीक्षक हरिबहादुर क्षत्रीले जानकारी दिनुभयो। उक्त दुर्घटनामा बा ३३ प १०८१ नम्बरको स्कुटरमा यात्रा गर्ने गोरखा जिल्ला सिरानचोक गाउँपालिका-५ छोप्राक घरभएर हाल तनुहँको आबुँखैरेनी गाउँपालिका निवासी २९ वर्षीय केशव घिमिरेको सनाखत भएको प्रहरी निरीक्षक क्षत्रीले जानकारी दिनुभयो। 

बा १० च ४६७९ नम्बरको कारमा यात्रा गर्ने हेटौंडा उपमहानगरपालिका-७ नागसेदी बस्ने वर्ष ३७ का अनिल भुजेलको सनाखत भएको छ। घिमिरे र भुजेल दुवैको सवारी साधन सडक भासिएर मस्र्याङ्दी नदीमा खसेको थियो। मृतक दुई जनाकै शव पोष्टमार्टमको लागि दमौली अस्पतालमा राखिएको छ।