कल्पना खरेल
नवलपरासी पश्चिम, जेठ १ गते । पश्चिम नवलपरासीस्थित सुनवल नगरपालिकाले लुम्बिनी प्रदेशमै पहिलो पटक पालिकाद्वारा सञ्चालित सुनवल आयुर्वेद तथा फिजियोथेरापी स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा ल्याएको छ ।
औषधी नखाई व्यायाम वा विद्युतीय उपकरणको माध्यमबाट उपचार गर्ने लक्ष्यसहित सुनवल नगरपालिकाले करिब १५ लाखको लागतमा आयुर्वेद तथा फिजियोथेरापी सेवा सुरु गरेको हो । जसमा ढाड, कम्मर, गर्दन दुखेको, हाड जोर्नी तथा नशासम्बन्धी समस्या, प्यारालाइसिस सम्बन्धी समस्या लगाएतको उपचार गरिन्छ ।
फिजियोथेरापीमा औषधी नखाई व्यायाम गरेर, हातले गर्ने उपचार गरेर, पानीमा गरिने व्यायाम गरेर वा विद्युतीय उपकरणको माध्यमबाट पनि उपचार गरिने सुनवल नगर प्रमुख विमला अर्यालले बताउनुभयो ।
त्यसैगरी डाक्टरको सल्लाहमा एलोपेथि औषधी खाँदा पनि सन्चो नभएका दिर्घ रोगीहरूका लागि आयुर्वेद पञ्चकर्मद्वारा उपचार गरिन्छ । जसअन्तर्गत तत्कालका लागि एकाङ्ग स्वेदन (स्नेहन), सर्वाङ्ग स्वेदन (स्नेहन), नस्य, मात्र वस्ति, जानु वस्ति, गृवा वस्ति र कटि पिचु सेवा प्रदान गरिने छ ।
यस उपचार केन्द्रबाट मलद्वारको समस्या, पायल्स, फिस्टुला, ग्यास्टिकको समस्या, बाथ युरिक एसिड लगायतको बिरामीलाई निशुल्क आयुर्वेद औषधी समेत उपलब्ध गराइनेछ । आयुर्वेद औषधी स्वस्थ्य र अस्वस्थ्य दुवै व्यक्तिले प्रयोग गर्न सकिने आयुर्वेद चिकित्सक डा. गोबर्धन चौधरीले बताउनुभयो ।
आयुर्वेद तथा फिजियोथेरापीकाको एक हप्ता उपचारको लागि १०० सेवा शुल्क लाग्ने छ । नवलपरासी आयुर्वेद स्वस्थ्यकेन्द्रको प्राविधिक सहयोग रहने यस आयुर्वेद तथा फिजियोथेरापी सेवाका लागि एक आयुर्वेद चिकित्सक, एक फिजियो थेरापिस्ट र एक जना थेरापिस्ट रहने छन् ।
सहरी स्वास्थ्य केन्द्र सुवनल १ मा रहेको सुनवल आयुर्वेद तथा फिजियोथेरापी स्वास्थ्य सेवा केन्द्रको जिल्ला समन्वय प्रमुख भगउती यादव र नगर प्रमुख विमला अर्यालले संयुक्त समुद्धघाटन गर्नुभएको थियो ।