• १३ असार २०८१, बिहिबार

सडकबीचमा बिजुलीका खम्बा

blog

सर्लाही समाचारदाता

सर्लाही, जेठ २७ गते  । सर्लाहीको बयलवास बजारमा सडकको बीचमा परेका बिजुलीका खम्बा बेलैमा नहटाइँदा जोखिम बढेको छ । निर्माणाधीन फूलजोर–त्रिभुवननगर सडकअन्तर्गत केही महिनाअघि व्यक्तिगत घर र अन्य भौतिक संरचना भत्काएर विस्तार गरिएको बयलवास बजार क्षेत्रमा नाङ्गो तार भएका दर्जनौँ बिजुलीका खम्बा बीच सडकमा परेका छन् । 

मुख्य बजार क्षेत्रमा सडक बढाउँदा कमजोर भएका बिजुलीका खम्बा आफैँ ढले वा कुनै सवारीसाधनले ठक्कर दिएर ढलेमा दुर्घटना हुनसक्ने जोखिम रहेको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन् । 

सडक निर्माण गरिरहेको टुन्डी आशिष सन्तोषी जेभीका प्रतिनिधि जीवन कँडेलले सुरुमा बिजुलीका खम्बा कसले सार्ने भन्ने प्रस्ट नरहेको र अहिले भने आफूहरूलाई नै खम्बा सार्ने रकमसमेत प्राप्त भएकाले नेपाल विद्युत् प्राधिकरण लालबन्दी वितरण केन्द्रसँग समन्वय गरी काम गर्ने तयारी गरिरहेको बताउनुभएको छ ।

उहाँले बजार क्षेत्रको सडकमा ‘डिभाइडर’ समेत राख्ने योजना रहेकाले ‘डिभाइडर’ भित्र पर्ने खम्बाहरू भने त्यहीँ रहन दिइने बताउनुभएको छ । बयलवास बजारबाहेक फूलजोर–त्रिभुवननगर सडकको बबरगञ्ज, भेल्हीलगायत क्षेत्रमा नेपाल विद्युत् प्राधिकरणको मलङ्गवा वितरण केन्द्रसँग समन्वय गरी बिजुलीका खम्बा सार्ने काम गरिने ठेकेदारका प्रतिनिधि कँडेलले जानकारी दिनुभयो । 

प्राधिकरणको लालबन्दी वितरण केन्द्रका प्रमुख सञ्जीवकुमार साहले ठेकेदार कम्पनी बिजुलीका खम्बा सार्न लाग्ने खर्च बेहोर्न तयारभएको खण्डमा सो कामका लागि कार्यालयले केन्द्रीय कार्यालयबाट स्वीकृत लिने बताउनुभएको छ ।

ईश्वरपुर नगरपालिका कार्यालयले पनि सडकमा परेका बिजुलीका खम्बा हटाउन ठेकेदार र प्राधिकरणसँग समन्वय गरिरहेको जनाएको छ । ईश्वरपुरका नगरप्रमुख मनोजकुमार आचार्यले बिहीबार ठेकेदार र प्राधिकरणका प्रतिनिधिलाई कार्यालयमै बोलाएर यस विषयमा छलफल गर्नुभएको छ । 

बयलवास बजार क्षेत्रमा सडक निर्माण र त्यससँग जोडिएका अन्य काम गर्ने क्रममा बारम्बार विवाद सिर्जना भइरहेको छ । विवादकै कारण सडक निर्माणको काम निकै सुस्त गतिमा भइरहेको स्थानीयले बताएका छन् ।