रवीन्द्र उप्रेती
बर्दीबास, वैशाख २९ गते । सेवाग्राहीको सर्वाधिक चाप रहने गौशाला मालपोतमा दरबन्दी अनुसारको कर्मचारी नहुँदा कार्यालयको सेवा प्रभावित हुने गरेको छ । कर्मचारी अभावले गौशाला मालपोत स्थापनाकालदेखि नै समस्यामा छ । अहिले पनि दरबन्दी सङ्ख्याको तुलनामा आधा कर्मचारी मात्र खटाइएकाले यसको असर सर्वसाधारणलाई परेको छ ।
सरकारले सार्वजनिक सेवा प्रवाहलाई सरल, सहज, मितव्ययी र प्रभावकारी बनाउने उद्देश्यले सेवाग्राहीको चाप हुने स्थानमा कार्यालय विस्तार गर्ने कार्यलाई प्राथमिकतामा राखेको छ ।
यही नीति अन्तर्गत जनतालाई सहज सेवा दिने उद्देश्यले महोत्तरीको उत्तरी भेगस्थित गौशालामा नयाँ मालपोत कार्यालय स्थापना गरिए पनि कर्मचारी अभावले सेवा प्रवाह प्रभावकारी हुन सकेको छैन । यसको असर सेवाग्राहीलाई त परेको छ नै । भएका कर्मचारीको काँधमा पनि अधिक कार्य बोझ परेको छ ।
कार्यालय प्रमुख दीपेन्द्र झाका अनुसार २०८१ सालको भदौ २८ गतेदेखि सेवा दिन सुरु गरेको गौशाला मालपोतमा सुरुदेखि नै कर्मचारी अभाव छ । केन्द्रले यो कार्यालयका लागि एक उपसचिव र तीन शाखा अधिकृत गरी उपल्लो तहका चार जनाको दरबन्दी कायम गरेकोमा अहिलेसम्म एक जना शाखा अधिकृत मात्र पठाएको छ ।
त्यस्तै आठ जना नायब सुब्बामध्ये दुई जनाको सिट अहिलेसम्म खाली छ । १० जना खरदारको दरबन्दी भए पनि पाँच जनाले मात्र काम चलाउनु परेको उहाँले बताउनुभयो । मालपोत प्रमुख झाले भन्नुभयो, “यस कार्यालयमा २९ जनाको दरबन्दीमध्ये अहिलेसम्म कार्यरत कर्मचारीको सङ्ख्या १९ जना मात्र छ । उपसचिवसहित १० जनाको पदपूर्ति नहुँदा सेवा प्रवाहमा कठिनाइ भइरहेको छ ।”
लेखापढी व्यवसायी सङ्घका अनुसार महोत्तरीको उत्तरी भेगका दुई लाख जनतालाई घरदैलोमै सेवासुविधा दिने उद्देश्यले स्थापना भएको गौशाला मालपोतमा दैनिक करिब तीन सय सेवाग्राहीको चाप हुने गरेको छ । तुलनात्मक रूपले सेवाग्राहीको यो सङ्ख्या जलेश्वर र बर्दीबास मालपोतका भन्दा पनि बढी हो ।
कार्यालय प्रमुख दीपेन्द्र झाका अनुसार पनि गौशाला मालपोतले उत्तरी भेगका चार वटा स्थानीय निकायका साविक २० वटा गाविस अन्तर्गतका निजी, सरकारी, सार्वजनिक, गुठी र सामुदायिक जग्गा वा घरजग्गासम्बन्धी भूसेवा प्रदान गर्दै आएको छ । उहाँका अनुसार स्थापना भएदेखि यो मालपोतले दैनिक २० देखि २५ वटा जग्गा पास, ३० देखि ३५ वटा जग्गा रोक्का र फुकुवा, दाखिल खारेज, नामसारीलगायतको काम हुने गरेको छ ।
मालपोत कार्यालयले सेवा प्रवाह गर्न थालेदेखि ३३ वटा भूसेवा केन्द्र दर्ता भई एक सय जनाभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन् भने ५० जना लेखापढी व्यवसायीको जीवनयापन गर्ने माध्यम पनि यही मालपोत भएको छ । फेरि पनि लामो समयदेखि रिक्त पदले सेवाग्राहीको बढी चाप हुने मालपोत जस्ता सरकारी कार्यालय थला पर्ने अवस्थामा पुगेको जनाइएको छ । मालपोत प्रमुख झाले कर्मचारी अभाववारे सम्बद्ध निकायमा बेला बेलामा लिखित आग्रह गर्दा पनि सुनुवाइ नभएको गुनासो गर्नुभयो ।