बुटवल समाचारदाता
बुटवल, वैशाख २९ गते । नेपाली साहित्यको विकासमा स्वर्गीय प्रदीप नेपालको भूमिका महत्वपूर्ण रहेको बुटवलमा आयोजित एक कार्यक्रममा औँल्याइएको छ । साहित्यमा सञ्जय थापाका नामले चर्चित प्रदीप नेपाल राजनीतिभन्दा साहित्य क्षेत्रमा बढी सफल रहेको समेत चर्चा गरियो ।
कार्यक्रममा लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री एवं प्रदेश सांसद लीला गिरीले स्वर्गीय नेपाल सरल, इमानदार, सही र गलत छुट्याउन सक्ने असल कम्युनिस्ट नेता रहेको बताउनुभयो । उहाँले राजनीतिबाट नेपालले जति नाम र चर्चा कमाउनुभयो, त्योभन्दा बढी साहित्यमा उहाँले दिएको योगदानले अमर रहनुहुने धारणा राख्नुभयो ।
वरिष्ठ साहित्यकार दिल साहनीले पञ्चायतकालमा उहाँले लेखेका पुस्तकले सर्जकलाई साहित्य क्षेत्रमा लाग्न प्रेरणा मिलेको उल्लेख गर्दै उहाँमा राजनीतिभन्दा बढी साहित्यको चेत रहेको उल्लेख गर्नुभयो । साहित्यकार प्रेम सुवेदीले स्वर्गीय प्रदीप नेपालको राजनीतिमा मात्रै नभई साहित्य र पत्रकारिता क्षेत्रमा पनि उत्तिकै योगदान रहेको बताउँदै देशले एक असल पात्र गुमाएकोमा चिन्ता प्रकट गर्नुभयो ।
साहित्यकार झपेन्द्रबहादुर जिसीले उहाँले लेखेका साहित्यका पुस्तकले पञ्चायतकालमा युवालाई राजनीतिमा लाग्न प्रेरित गरेको उल्लेख गर्नुभयो । लुम्बिनी वाङ्मय प्रतिष्ठानका अध्यक्ष ऋषि आजादले साहित्यमा उहाँले दिएको योगदान कहिल्यै बिर्सन नसकिने बताउनुभयो ।