• २९ वैशाख २०८२, सोमबार

हुम्लामा दैनिक बाह्र घण्टा लोडसेडिङ

blog

हुम्ला समाचारदाता

हुम्ला, वैशाख २९ गते । हिमाली जिल्ला हुम्लाको सदरमुकामसमेत रहेको सिमकोट र खार्पुनाथ गाउँपालिकामा दैनिक १२ घण्टा लोडसेडिङ हुने गरेको छ । उपभोक्ताको माग बढी र हिल्दुम विद्युत् वितरण केन्द्रले उत्पादन गर्ने विद्युत् कम भएका कारण लोडसेडिङको समय बढेको हो । 

व्यापारी मुकुन्द रोकायाले लोडसेडिङ समय बढेका कारण आफ्नो कुटानीपिसानी मिल समस्यामा परेको बताउनुभयो । उहाँले दैनिक १२ घण्टासम्म बिहानदेखि राति ९ बजेसम्म लोडसेडिङ हुँदै आएको जनाउनुभयो । स्थानीय दैनिक तोरी पेल्न र अन्न पिस्न आउने भए पनि लोडसेडिङका कारण समयमा काम गर्न नपाउने अवस्था रहेको उहाँको भनाइ छ । २० केजी जौ पिस्नका लागि एक दिन पालो कुर्नुपर्ने भन्दै उहाँले यसले गर्दा उद्योग नै धरापमा परेको बताउनुभयो । बढ्दो लोडसेडिङले छापाखाना, फर्निचर उद्योग, इलोक्ट्रोनिक्सका व्यवसायलाई असर पुगेको छ । 

हिल्दुम विद्युत् वितरण केन्द्रका प्रमुख जितेन्द्र यादवले विद्युत्को माग बढी र उत्पादन कम भएका कारण दैनिक लोडसेडिङ समय बढिरहेको बताउनुभयो । पावर हाउसका लागि आवश्यक पर्ने पानीको स्रोत कम भएका कारण आयोजनाले क्षमता अनुसारको विद्युत् उत्पादन नहुँदा लोडसेडिङ थपिएको उहाँको भनाइ छ । हाल सदरमुकाम सिमकोटमा मात्र पिक समयमा सात सय किलोवाट माग हुने गरेको र अरू बेला चारदेखि पाँच सय किलोवाट माग हुने गरेको छ । राति १० बजेबाट बिहान ६ बजेसम्म लोडसेडिङ हुने गरेको छैन ।  त्यसै गरी सिमकोट गाउँपालिकाका अन्य छ वटा वडा र खार्पुनाथ गाउँपालिकाका चार वटा वडामा गरी दुई सय किलोवाट विद्युत्को माग रहेको बताउँदै उहाँले केन्द्रले जम्मा डेढ सय विद्युत् उत्पादन गरिरहेका कारण लोडसेडिङ समय बढाउनुको विकल्प नभएको जनाउनुभयो । पाँच सय किलोवाट विद्युत् उत्पादन गर्ने क्षमता भएको केन्द्रले कहिल्यै पनि पूरा क्षमताको विद्युत् उत्पादन गर्न सकेको छैन । लोडसेडिङका कारण विद्युत्सम्बन्धी अन्य व्यवसाय मर्कामा परेका छन् भने वित्तीय कारोबार गर्ने निकाय कार्यालयमा सोलार जडान गर्न बाध्य छन् । हालसम्म हुम्ला जिल्ला विद्युत्को राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छैन ।