• ४ साउन २०८१, शुक्रबार

नेपाल र अमेरिकाबीच हुन लागेको सैन्य भ्रमणबारे सदनलाई जानकारी गराउन माग

blog

तस्बिर : केशब गुरुङ

काठमाडौं, जेठ २६ गते । नेकपा (माओवादी केन्द्र)का सांसद गिरिराजमणि पोखरेलले नेपाल र अमेरिकाबीच हुन लागेको सैन्य भ्रमणको उद्देश्य र एजेण्डाबारे सरकारले सदनलाई जानकारी गराउनुपर्ने बताउनुभएको छ ।

अमेरिकी सेनाका प्यासिफिक कमाण्ड कमान्डिङ वरिष्ठ जर्नेल चाल्र्स ए फ्लिन चारदिने नेपाल भ्रमणका लागि बिहीबार काठमाडौं आउँदै हुनुहुन्छ ।

बिहीबारको प्रतिनिधिसभा बैठकमा बजेटको मन्त्रालगत शीर्षकमाथिको छलफलमा भाग लिनुहुँदै सांसद पोखरेलले यस विषयमा सरकारले सदनलाई जानकारी गराउनुपर्ने बताउनुभएको हो ।

‘‘अमेरिकी सेनाहरुको नेपाल भ्रमण र नेपाली सेनाहरुको अमेरिकी भ्रमणको उद्देश्य र एजेण्डाबारे सरकारले सदनलाई जानकारी गाउनुपर्दैन ?,’’ उहाँले प्रश्न गर्नुभएको छ, ‘‘अविलम्ब सदनलाई जानकारी गराइयोस् भन्ने माग गर्छु ।’’

त्यस्तै, उहाँले अमेरिकी र नेपाली सेनाबीच स्टेट पार्टनरसिप प्रोग्रामको सम्झौता हुन लागेको सुनेको उल्लेख गर्नुहुँदै यो स्टेट पार्टनरसिप प्रोग्राम भनेको के हो ? भनेर प्रश्न गर्नुभएको छ ।

‘‘यसबारे सरकारको धारणा के छ ? स्टेट पार्टनरसिप प्रोग्रामको नाममा सैनिक र रणनीतिक कार्यक्रमहरुमा जोडिन खोजिएको हो ?,’’ उहाँले प्रश्न गर्नुभयो ।