• २६ वैशाख २०८२, शुक्रबार

पशुपतिमा आर्थिक हिनामिना गर्ने कर्मचारी बर्खास्त

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, वैशाख २६ गते । पशुपति क्षेत्र विकास कोषले आर्थिक हिनामिना र अपचलनमा संलग्न एक कर्मचारीलाई बर्खास्त गरेको छ । कोषका सदस्यसचिव डा. मिलनकुमार थापाका अनुसार ३६ लाख ५० हजार ९५५ रुपियाँ हिनामिना गर्ने लेखापाल ईश्वरबहादुर दवाडीलाई बर्खास्त गरिएको हो । 

कोषका कार्यकारी निर्देशक सुभाषचन्द्र जोशीले ‘हिनामिना गरेको रकम असुलउपर गर्ने गरी कोषको सेवाबाट बर्खास्त गरिएको’ पत्र लेखापाल दवाडीलाई दिनुभएको छ । सदस्यसचिव डा. थापाले कोषभित्र आर्थिक सुशासन र पारदर्शिताको प्रत्याभूति गर्न आर्थिक अपचलन र हिनामिनामा संलग्न कर्मचारीलाई कारबाही गरिएको बताउनुभयो । 

उहाँले भन्नुभयो, “भगवान् पशुपतिनाथको सेवा गर्ने जिम्मेवारी पाएकै व्यक्तिबाट आर्थिक अनियमितता भएको खुलेपछि कारबाही गर्नुको विकल्प रहेन ।” यसअघि डा. थापाकै नेतृत्वमा २०८१ जेठ ७ गते सोमबार पशुपतिनाथ मन्दिरको भेटी चोरीमा संलग्न भएकै अवस्थामा नियन्त्रणमा लिएर प्रहरीलाई बुझाइएको थियो । पशुपति क्षेत्र विकास कोषमा नायब सुब्बा पदमा कार्यरत ५१ वर्षीय नवराज ढोडारी, कोषका ब्राह्मण पदमा कार्यरत ३६ वर्षीय नवराज घिमिरे र बाजा बजाउने कर्मचारीहरू ३४ वर्षका अनिल परियार, ३५ वर्षका कुमार दमाईं परियार र २९ वर्षीय सञ्जय कपालीलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको थियो । अभियुक्तविरुद्ध अहिले काठमाडौँ जिल्ला अदालतमा मुद्दा चलिरहेको छ । 

उहाँका अनुसार लेखापाल दवाडीले कोषको आम्दानी रकम तोकिएको खातामा जम्मा नगरी आफूले मासेर हिनामिना गरी भ्रष्टाचारजन्य कार्य गरेकाले कारबाही गरिएको हो । २०४४ सालमा कोषको ऐन जारी भएयता केही कर्मचारीलाई निलम्बन गरिए पनि आजीवन अयोग्य हुने गरी बर्खास्त गरिएको यो पहिलो निर्णय हो । 

कारबाहीमा परेका दवाडीले वैशाख २३ गते स्पष्टीकरण पेस गरी हिनामिना गरेको बेहोरामा साबिती भई केही रकम जम्मा गराएको बताएका थिए । कोषका अनुसार आठ लाख ९३ हजार ४३८ रुपियाँ लेखापाल दवाडीबाट असुल गर्न बाँकी रहेको र उक्त रकम पनि असुल गरिने छ ।