• २५ वैशाख २०८२, बिहिबार

लागु औषध र नाइट्रोभेटसहित तीन जना पक्राउ

blog

मकवापुर प्रहरीले प्रतिबन्धित लागु औषध गाँजा र नाइट्रोभेटसहित पक्राउ परेकालाई सार्वजनिक गर्दै प्रहरी । तस्बिर : स्मिता अर्जेल

स्मिता अर्जेल
मकवानपुरगढी, वैशाख २५ गते ।
मकवापुर प्रहरीले प्रतिबन्धित लागु औषध गाँजा र नाइट्रोभेटसहित तीन जनालाई पक्राउ गरेको छ ।

दोलखाको भिमेश्वर नगरपालिका वडा नम्बर-८ बस्ने वर्ष २५ को मोटरसाइकल चालक विजय थापा र पछाडि सवार मकवानपुरगढी गाउँपालिका- ०७ बस्ने वर्ष ३५ को शुनिल बोम्जन रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।

उहाँका अनुसार उनीहरूको साथबाट दुई किलो ५३० ग्राम लागु औषध गाँजा बरामद गरिएको हो ।

मकवानपुरको, मकवानपुरगढी गाउँपालिकाबाट खटिएको प्रहरी टोलीले गढी गाउँपालिका—२ शिखरकटेरीस्थित कान्तिलोकपथ सडकखण्डमा सवारी साधनहरू रोकी चेकजाँच गर्ने क्रममा सुकौरा बुढीचौरबाट हेटौँडा बजारतर्फ आउँदै गरेको ना २६ प. ३६७१ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा उक्त लागु औषध फेला परेको प्रहरीले जनाएको छ  ।

नियन्त्रणमा रहेका उनीहरूको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ  ।

यसैगरी, प्रहरीले लागु औषध नाइट्रोभेटसहित एक जनालाई प्रकाउ गरेको छ  ।

प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरी टोलीले मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर— १५ रातोमाटे चेकपोईन्टस्थित पूर्व पश्चिम लोकमार्ग सडकखण्डमा रौतहटबाट काठमाडौँतर्फ जाँदै गरेको बा.प्र. ०१ ०३१ च ५०२२ नम्बरको यात्रुबाहक इभी सवारी रोकी चेकजाँच गर्ने क्रममा गाडीमा सवार भई आएका रौतहटका मौलापूर नगरपालिका वडा नम्बर— ०९ बस्ने वर्ष ३२ को सुनिल सिंह पटेललाई पक्राउ गरेको हो ।  

उहाँले आफू सवार गाडीको छतमा रातो रङको सुटकेस र झोलाभित्र लुकाईछिपाई ल्याइएको अवस्थामा  लागु औषध नाइट्रोभेट ३४४० ट्याबलेट, ट्रमाडोल २८५० क्याप्सुल, फेनार्गन ३८५ एम्पुल, नुफिन ३९५ एम्पुल र डाइजेपाम ३७८ एम्पुल बरामद गरिएको मकवानपुर प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।