• ८ पुस २०८२, मङ्गलबार

एमाले पूर्व जिल्ला अध्यक्ष साम्सोहाङलाई कारबाही

blog

एमाले ताप्लेजुङका पूर्व अध्यक्ष तथा पूर्वमन्त्री बलबहादुर साम्सोहाङ।

चन्द्र पन्दाक

ताप्लेजुङ, वैशाख २५ गते। नेकपा (एमाले) कोशी प्रदेश समितिले ताप्लेजुङका पूर्व अध्यक्ष बलबहादुर साम्सोहाङलाई कारबाही गरेको छ। कोशी प्रदेशका पूर्वमन्त्रीसमेत रहनुभएका साम्सोहाङ र युवा नेता मणिशङ्कर पोमुलाई पार्टीले कारबाही गरेको हो।

पार्टीको अनुशासन उल्लङ्घन गरेकोभन्दै प्रदेश कमिटीको बैठकले पूर्वमन्त्री साम्सोहाङ र हाल एमाले कोशी प्रदेश पर्यटन विभाग सचिव रहनुभएका पोमुलाई कारबाही गरिएको हो। कारबाहीमा पर्नुभएका साम्सोहाङ र पोमुलाई एक महिनाका लागि साधारण सदस्यबाट निलम्बन गरिएको बताइएको छ। 

गत वैशाख १८ गते राष्ट्रिय युवा सङ्घ नेपाल ताप्लेजुङको अधिवेशनबाट संस्थापन पक्षले एकलौटी ढङ्गले जिल्ला कमिटी गठन गरेकोभन्दै साम्सोहाङ पक्षले विरोध गर्नुभएको थियो। सोही विरोध गरेको कारण उहाँहरू कारबाहीमा पर्नुभएको हो। जिल्ला अधिवेशनबाट एकलौटी रूपमा युवा सङ्घको कमिटी घोषणाको विरोध गरेकै कारण कारबाही गरिएको भन्ने जानकारीमा आएको साम्सोहाङको भनाइ छ।

यता युवा सङ्घको जिल्ला अधिवेशनबाट संस्थापन पक्षका मानिने मानिक तुम्बाहाम्फे अध्यक्ष रहेको जिल्ला कमिटी चयन गरिएको छ। सङ्घका केन्द्रीय अध्यक्ष क्षितिज थेबेको प्रमुख आतिथ्यतामा भएको जिल्ला अधिवेशनको बन्द सत्रमा दुई पक्षबिच विवाद नै भएको थियो। दुई पक्षीय विवादले उग्र रूप लिँदा अधिवेशनस्थलमा टेबुल, कुर्सीलगायत तोडफोडसमेत भएको थियो। साम्सोहाङ र पोमु एमाले सचिव योगेशकुमार भट्टराई निकट मानिनुहुन्छ।