• १३ असोज २०८१, आइतबार

मौज्दातकै चिनीमा मूल्यवृद्धि

blog

काठमाडौँ, जेठ २६ गते ।साल्ट ट्रेडिङ कर्पोरेसनले गएको सातादेखि चिनी बिक्री बन्द गरेको छ । साल्ट ट्रेडिङसँग रहेको मौज्दात चिनी सकिएपछि बिक्री बन्द भएको हो । 

साल्ट ट्रेडिङका उपमहानिर्देशक कुमार राजभण्डारीले चिनीको मौज्दात सकिएकाले बिक्री गर्न नसकिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “गएको सातासम्म प्रतिकेजी ७९ रुपियाँमा प्रतिव्यक्ति दुई केजीका दरले बिक्री गर्दै आएका थियौँ । अब सबै सकियो ।” 

अहिले चिनी आयात नभइरहेका बेला व्यापारीले भने पुरानै मौज्दातको चिनीमा मूल्य वृद्धि गरेको उपभोक्ता र खुद्रा व्यापारीको आरोप छ । 

सरकारले बजारको मूल्य वृद्धि नियन्त्रणका लागि साल्ट ट्रेडिङलाई  सहुलियत भन्सार दरमा चिनीको आयात गर्न दिएको थियो । चालू आर्थिक वर्ष साल्ट ट्रेडिङलाई चिनी आयातका लागि स्वीकृति नदिँदा बजारमा चिनीको मूल्य महँगिएको उपभोक्ता अधिकारकर्मी बताउँछन् । 

अधिकारकर्मी प्रेमलाल महर्जनले सरकारको अदूरदर्शी निर्णयका कारण उपभोक्ता मारमा परेको बताउनुभयो । साल्ट ट्रेडिङसँग चिनी नभएको मौका छोपी चिनी उद्योगी, व्यापारीले बजारमा चिनीको भाउ मनलाग्दी भन्न थालिसकेको उहाँले बताउनुभयो । 

उपभोक्ता अधिकारकर्मी महर्जनले बजारमा चिनीको अभाव हुन नदिन र बजार भाउ नियन्त्रण गर्न सरकारले तत्काल साल्ट टे«डिङ वा नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई भन्सार छुटमा केही समयभित्र २५÷३० हजार मेट्रिक टन चिनी आयात अनुमति दिनुपर्ने बताउनुभयो । 

बजारमा निजी व्यापारीको मनोमानी नियन्त्रण गर्न जरुरी रहेको भन्दै उपभोक्ता अधिकारकर्मी महर्जनले भन्नुभयो, “यस विषयमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूलाई भेटेरै खाद्य कम्पनी वा साल्ट टे«डिङमार्फत चिनी ल्याउनुपर्छ भनेर ध्यानाकर्षण गराइसकेका छौँ ।” 

साल्ट ट्रेडिङले चिनी बिक्री गर्न छोडेको र भारतले चिनी निर्यातमा रोक लगाएपछि थोक व्यापारीले प्रतिबोरा चिनीमा दुई सय रुपियाँसम्म महँगो लिन थालेको खुद्रा व्यापारी बताउँछन् । नेपाल खुद्रा बजार सङ्घका पूर्वअध्यक्ष पवित्र वज्राचार्य बजारमा चिनीका उद्योगी र ठूला व्यापारीले चिनीमा चलखेल गर्न थालिसकेको बताउनुुभयो । भारतले आफ्नो देशलाई नपुग्ने आकलन गर्दै केही दिनदेखि चिनी निर्यातमा प्रतिबन्ध लगाउँदै आएको छ । 

यसको असर नेपाली बजारमा देखा पर्न थालिसकेको छ । यसअघि प्रतिकेजी ९० देखि ९५ रुपियाँमा किन्दै आएका उपभोक्ताले एक-डेढ सातायता प्रतिकेजी चिनीको एक सय रुपियाँ तिर्न बाध्य भएका छन् । खुद्रा व्यापारीले पहिले आयात भएको चिनीलाई नै बढी पैसा तिरेर पनि मागअनुसारको परिमाणमा किन्न नपाएको गुनासो गरेका छन् । खुद्रा व्यापारी विष्णु तिवारीले तीन बोरा चिनी माग गरेकामा एक बोरा मात्रै त्यो पनि प्रतिबोरामा दुई सय रुपियाँ मूल्य बढी तिरेर पाइएको बताउनुभयो । 

उहाँका अनुसार थोकबाटै मूल्य बढेर आएपछि खुद्रामा मूल्य बढाउन बाध्य भएका छौँ, पहिले प्रतिबोरा चार हजार ५५० रुपियाँ खरिद मूल्य रहेकामा अहिले प्रतिबोरा चार हजार ७५० पर्न थालेको छ, त्यो पनि माग गरेअनुसार बेला सजिलै पाइँदैन । 

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले अनुसार बजारमा ४८ हजार मेट्रिक टन चिनी मौज्दात रहेको बताउँदै आएको छ । वाणिज्य मन्त्रालयका सहप्रवक्ता उर्मिला केसीले लगभग तीन महिनालाई पुग्ने चिनी मौज्दात रहेकाले चिनी लुकाएर कालोबजारी गर्नेलाई कारबाही हुने बताउनुभयो । 

चिनी उद्योगी भने भारतले निर्यातमा प्रतिबन्ध लगाए पनि तत्काल बजारमा चिनीको अभाव नहुने बताउँदै आएका छन् । स्वदेशी चिनी उद्योगले चिनीको मूल्य नबढाएको दाबी गरेपछि पनि बजारमा ठूूला व्यवसायीले भएको चिनी लुकाउन थालेको पाइएको छ । 

नेपाल चिनी उत्पादन सङ्घका अध्यक्ष शशिकान्त अग्रवालले चिनी लुुकाएर महँगोमा बिक्री गरेको भन्ने कुरामा सत्यता नभएको बताउनुभयो । नेपालमा वार्षिक दुई लाख ८० हजार मेट्रिक टन चिनीको माग छ । चालू आर्थिक वर्षमा भारतबाट करिब ९० हजार मेट्रिक टन (नौ करोड केजी) चिनी आयात भइसकेको छ । यसबाहेक भारतबाट तस्करीको चिनी ठूलो मात्रामा नेपाल भित्रिने गरेको छ । चिनी उद्योगीका अनुसार नेपालको वार्षिक उत्पादन एक लाख ५० हजार मेट्रिक टन रहेको छ ।