• २५ वैशाख २०८२, बिहिबार

विरासत र इतिहासको हिसाबले हामी समृद्ध छौँ : कार्यकारी अध्यक्ष सुवेदी

blog

गोरखापत्र संस्थानको ६३ औँ र गोरखापत्र दैनिकको १२५ औँ वार्षिकोत्सवको अवसरमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदी।

काठमाडौँ, वैशाख २४ गते । गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीले गोरखापत्र संस्थान विरासत र इतिहासको हिसाबले समृद्ध रहेको बताउनु भएको छ ।

गोरखापत्र दैनिकको १२५ औँ वर्ष प्रवेश तथा  गोरखापत्र संस्थानको ६३ औँ र वार्षिकोत्सवको अवसरमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले विरासतको हिसाबमा समृद्ध भए पनि सूचना र प्रविधिको क्षेत्रमा देखिएको परिवर्तन अनुसार कार्यशैली बदल्नुपर्नेमा जोड दिनुभएको छ । 

उहाँले भन्नु भयाे ‘‘१२४ वर्षदेखि अविरल यात्रामा गोरखापत्रले राजनीतिक रूपान्तरणका सबै आरोह अवरोहलाई सामना गरेको छ । विरासत र इतिहासको हिसाबले हामी समृद्ध छौँ । तर अहिले सूचना प्रविधिको क्षेत्रमा जुन ढङ्गको परिवर्तन भएको छ । त्यो अनुसार कार्यशैली बदल्नुपर्ने आवश्यक छ ।’’ 

अध्यक्ष सुवेदीले रूपान्तरणको सुरुवात गरेको नतिजा देखिँदै गएको उल्लेख गर्नुहुँदै त्यसकै परिणामका आधारमा १२५ औँ वार्षिकोत्सवको अवसरमा कर्मचारीलाई १५ दिनको प्रोत्साहन प्रदान गरेको उल्लेख गर्नुभयो । ‘‘२४ घण्टामा गोरखापत्र किन पढ्ने प्रश्न हामीमाथि छ । त्यसको जवाफ दिन हामीले संस्थानको रूपान्तरणको प्रयास सुरु गरेका छौँ । अर्थ मन्त्रालयको वार्षिक प्रतिवेदनमा संस्थान नाफामा छ । त्यही नाफाको आधारमा यो विशेष अवसरमा कर्मचारीलाई प्रोत्साहन प्रदान गरेका छौँ ।’’ 

हामी हरेक राजनीतिक परिवर्तनको साक्षी  बनेको गोरखापत्रले हरेक परिवर्तनमा सरकारलाई सहयोग गरेको सम्झना गर्नुहुँदै उहाँले भवन निर्माणका लागि सरकारले पहल गर्नुपर्नेमा जोड दिनुभयो । २०७२ सालमा भूकम्पले भवन क्षतिग्रस्त बने पनि अहिलेसम्म भवन बन्न नसकेको विषयमा प्रधानमन्त्रीलाई जानकारी गराउनुभएको छ ।

‘‘संस्थान जीर्ण भवनमा छ । भवनमा बनाउने विषयमा सिंह दरबारमा विभिन्न ढोका चाहारेका छौँ । मान्य मन्त्रीज्यू (सञ्चार) ले बजेटमा गोरखापत्रको भवन निर्माणका लागि बजेट विनियोजन हुन्छ भन्नु भएको छ । आगामी बजेटमा गोरखापत्रको भवन समेटिने विश्वास हामीले लिएका छौँ ।’’ 

अध्यक्ष सुवेदीले गोरखापत्र १२५ औँ वर्ष प्रवेश गरेको अवसरमा प्रधानमन्त्रीको उपस्थितिसँगै केही खुसी प्राप्त भएको उल्लेख गर्नुभयो । ‘‘प्रधानमन्त्रीको उपस्थिति पहिलो खुसी, अभिभावकीय हौसला र ऊर्जामात्र होइन फरक उत्साह प्राप्त भएको छ । दोस्रो खुसी गोरखापत्र संस्थानको विनियमावलीको टुङ्गो लागेको छ । यो स्वीकृत भएसँगै गोरखापत्रका कर्मचारीको वृत्ति विकासको बाटो खुलेको छ’’, अध्यक्ष सुवेदीले भन्नुभयो, ‘‘तेस्रो खुसी गोरखापत्र संस्थानको २०१९ को ऐन खारेज गरेर नयाँ ऐन ल्याउने र गोरखापत्रको समग्र सुधार गर्ने तथा गोरखापत्रलाई सार्वजनिक प्रकाशनमा लैजाने योजना सञ्चारमन्त्रीज्यूको नेतृत्वमा सुरु भएको छ ।’’ 

प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा राष्ट्रिय सभा गृहमा सम्पन्न कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङ विशिष्ट अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।  

यो पनि पढ्नुहोस

जयपृथ्वीवहादुर सिंहको स्मरणमा माल्यार्पण

प्रधानमन्त्रीबाट गोरखापत्रको युग साक्षी लोकार्पण