• २५ वैशाख २०८२, बिहिबार

बैँक नोटबाहेक छपाइका सबै काम नेपालमै सुरु भएको छ : सञ्चारमन्त्री गुरुङ

blog

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङ।

काठमाडौँ, वैशाख २४ गते। सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले बैँक नोट बाहेक सुरक्षाका सबै सामग्री छाप्ने व्यवस्था नेपालमै सुरु भएको बताउनुभएको छ।

बुधबार गोरखापत्र दैनिकको एक सय २५ औँ वार्षिकोत्सवको अवसरमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो। उहाँले नोटबाहेकका सबै छपाईका सामग्री उत्पादन गर्न सक्ने प्रेसको व्यवस्था भइसकेको बताउनुभयो। जनशक्ति र वित्तीय व्यवस्थापन गरी प्रेस सञ्चालनको तयारी भइरहेको उहाँको भनाइ छ। पासपोर्टलगायत सुरक्षाका कुनै पनि सामग्री छपाइका लागि अब विदेश जानु नपर्ने उहाँको भनाइ छ।

उहाँले भन्नुभयो, ‘बैँक नोटबाहेक सबै चिज उत्पादन गर्न सक्ने प्रिन्ट गर्नसक्ने प्रिन्टिङ प्रेसको प्रबन्ध भइसकेको छ। म्यान पावरको हिसाबले प्रबन्ध गरेर, वित्तीय व्यवस्थापन गरेर हामी त्यो काम गर्दै छौँ। अबदेखि यस्ता चिजहरू छाप्नका लागि विदेश जानुपर्दैन। त्यो काम मन्त्रालयले सुरु गरिसकेको छ।’

मन्त्री गुरुङले चलचित्र विकास बोर्डको पुरानो ऐन विस्थापित गरेर नयाँ बनाउने प्रक्रिया सुरु गरेको बताउनुभयो। उहाँले बोर्डको नयाँ ऐन दर्ता भइसकेकाले पास भएर छिट्टै सञ्चालनमा ल्याइने बताउनुभयो। उहाँले चलचिलत्र विकास बोर्डको आफ्नै स्वामित्वको भवन निर्माणको काम समेत भइरहेको बताउनुभयो। चलचित्र क्षेत्रलाई उद्योगको रूपमा विकास गरी राजश्व आर्जनको महत्त्वपूर्ण क्षेत्र बनाउने उहाँको भनाइ छ। 

उहाँले भन्नुभयो, ‘यो वर्षभित्र मन्त्रालयलाई धेरै कुरामा दुरुस्त बनाउँदै छौँ। चलचित्र विकास बोर्डको पुरानो ऐन थियो। त्यो पास हुन्छ। त्यसको यही वर्षदेखि बिल्डिङ बनाउने काम सुरु हुन्छ। आफ्नै स्टुडियो भवन हुन्छ।’’

सञ्चारमन्त्री गुरुङले जनताको हकहितलाई सुनिश्चत गर्ने राज्यको दायित्व भएकाले सङ्घीय लोकतन्त्रान्त्रिक गणतन्त्रको मूल्य मान्यता बचाउनका लागि गोरखापत्रले महत्त्वपूर्ण भुमिका खेल्नुपर्नेमा जोड दिनुभयो। 

यो पनि पढ्नुहोस