काठमाडौँ, वैशाख २४ गते। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले रेडियो नेपाल र नेपाल टेलिभिजन जस्तै गोरखापत्र संस्थान अब सार्वजनिक सेवा प्रकाशनमा जानुपर्ने बताउनुभएको छ।
गोरखापत्र दैनिक १२५ औँ वर्षमा प्रवेश गरेको अवसरमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै सञ्चारमन्त्री गुरुङले यस्तो बताउनुभएको हो। गोरखापत्र संस्थानले राजधानीमा आयोजना गरेको कार्यक्रममा विशिष्ट अतिथिका रूपमा उपस्थित सञ्चारमन्त्री गुरुङले यस्तो बताउनुभएको हो।
‘‘गोरखापत्रले सबै किसिमको शासन प्रणाली बेहोरेको छ। अब बेहोर्न कुनै नयाँ शासन प्रणाली छैन। रेडियो नेपाल र नेपाल टेलिभिजनलाई जस्तै अब गोरखापत्र पनि सार्वजनिक सेवा प्रकाशनमा जानुपर्छ’’, उहाँले भन्नुभयो।
सञ्चारमन्त्री गुरुङले १२५ वर्ष भनेको दुर्लभ विषय भन्नुहुँदै संस्थानमा भएका समस्यालाई समाधान गरेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो। उहाँले भन्नुभयो, ‘‘१२५ वर्ष भनेको दुर्लभ विषय हो। हामीसँग अहिले केही समस्या छन्। तर यो वर्षभित्र केही समस्याको समाधान गर्न सक्छौँ।’’ मन्त्री गुरुङले मान्छेले अवसर प्राप्त गरेपछि त्यो समयमा काम गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले अवसर पाएको समयमा काम गरेर संस्थान नेतृत्वले औचित्य पुष्टि गर्नुपर्नेमा जोड दिनुभयो। मन्त्री गुरुङले अवसरलाई अधिकतम प्रयोग गर्न संस्थान नेतृत्वलाई सुझावसमेत दिनुभएको छ।
‘‘जीवन यत्तिधेरै अस्थिर छ। यस्तो जिन्दगीमा जे जस्तो जिम्मेवारी पाएका छौँ त्यसको अधिकतम सदुपयोग गर्नुपर्छ’’, उहाँले भन्नुभयो।
सञ्चारमन्त्री गुरुङले गोरखापत्रमा भवन र कर्मचारीको बढुवाको सवालको समस्या भएको बताउनुभयो। ‘‘गोरखापत्र संस्थानमा भवनको समस्या छ। गोरखापत्रमा कर्मचारी बढुवा हुन नसकेको सात–आठ वर्ष भइसक्यो। यो अर्को समस्या हो’’, उहाँले भन्नुभयो, ‘‘गौरवगाथामा उभिएर आज के गर्ने भन्ने प्रधान विषय हो। अब जनशक्तिको व्यवस्थापन हुनुपर्छ।’’
मन्त्री गुरुङले कर्मचारीको थाकेको ज्यानले मात्र गोरखापत्रलाई गति नदिने भन्दै बढुवा र वृत्ति विकासमा सक्रिय हुनुपर्नेमा जोड दिनुभएको छ।
एक शताब्दीभन्दा लामो इतिहास बोकेको गोरखापत्र मुलुकको गौरवशाली प्रकाशन हो। गोरखापत्र प्रकाशनको प्रारम्भदेखि १९९१ साल वैशाख ८ गतेसम्म हप्ताको एक दिन सोमबार र त्यसपछि २००१ साल असोजसम्म बुधबार प्रकाशन हुन थाल्यो। पछि साताको दुई र तीन पटक हुँदै २०१७ साल फागुन ७ बाट दैनिक भएको हो ।
मुलुककै जेठो समाचारमूलक पत्रिका गोरखापत्रको प्रकाशन आरम्भ भएको विसं १९५८ वैशाख २४ गतेको स्मरणमा हरेक वर्षको वैशाख २४ गते राष्ट्रिय पत्रकारिता दिवस मनाइन्छ। विसं २०७३ देखि राष्ट्रिय पत्रकारिता दिवस मनाउन सुरु गरिएको हो।