• २५ वैशाख २०८२, बिहिबार

ब्रह्मले देखेको लेख्न गोरखापत्र स्वतन्त्र छ : प्रधानमन्त्री ओली

blog

प्रधानमन्त्री केपी शर्मा ओली गोरखापत्र दैनिकको १२५ औँ वार्षिकोत्सवको अवसरमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै । तस्बिर : कविन अधिकारी

काठमाडौँ, वैशाख २४ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले आज गोरखापत्र ब्रह्मले देखेको लेख्न स्वतन्त्र रहेको बताउनुभएको छ । हिजो राणा र राजाको शासनमा राज्यको इसारामा चल्नुपर्ने बाध्यता बोकेका गोरखापत्रका सम्पादक आज लेख्नका लागि स्वतन्त्र रहेको उल्लेख गर्नुभएको हो । 

गोरखापत्र दैनिकको १२५ औँ वार्षिकोत्सवको अवसरमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानन्त्री ओलीले यस्तो बताउनुभएको हो । 

‘‘गोरखापत्रले धेरै उतारचढाब देखेको छ । यसलाई झेलेको छ । कत्ति गाह्रो थियो होला सम्पादकीय लेख्न ? आज तपाईं के सम्पादकीय लेख्नुहुन्छ ? कहिल्यै सरकारबाट दबाब हुँदैन । प्रधानमन्त्रीबाट दबाब र नियन्त्रण केही छैन । आज तपाईंहरू आफ्नो ब्रह्मले देखेको जे सुकै लेख्न स्वतन्त्र हुनुहुन्छ ।’

गोरखापत्रको १२५ औं वार्षिकोत्सवमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्नुहुँदै गोरखापत्र, गोरखापत्र परिवार, गोरखापत्रका पाठक र अध्ययता सबैलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो । 

उहाँले अब प्रविधिले फड्को मारेको र डिजिटल युगमा एआईको प्रयोग गरेर छिटो काम गर्न सकिने अवस्था आएको उल्लेख गर्नुभयो । उहाँले एकसाथ परिवर्तन नभए पनि गोरखापत्रमा विस्तारै परिवर्तन भइरहेको बताउनुभयो ।  

१०४ वर्षको उथलपुथल, राज र राणाको पारिवारिक द्वन्द्व स्वार्थलाई देखेको गोखापत्रले आजको परिवर्तनलाई अङ्गिकार गर्नुपर्नेमा उहाँको जोड छ । 

उहाँले पञ्चायतमा राणा शासनलाई जहानियाँ भन्दा राजतन्त्रलाई किन नभन्ने भन्ने विषय आएको उल्लेख गर्नुभयो । उहाँले गोरखापत्रले राजनीतिक परिवर्तन र निर्ममतासँगै योद्धाले आवाज उठाउँदा बिना कारण दुःख दिएको कुरा उठाएको सम्झना गर्नुभयो । 

प्रधानमन्त्री ओलीले गोरखापत्रको वार्षिकोत्सवको अवसरमा देशको राजनीतिक परिवर्तनका लागि सङ्घर्ष गर्ने योद्धाकोसमेत सम्झना गर्नुभएको छ । 

प्रधानमन्त्री ओलीले आज आफूले भन्दै आएको ‘समृद्ध नेपाल सुखी नेपाली’को विषय गोरखापत्रले १२४ वर्ष अगाडि लेखेको उल्लेख गर्नुभयो ।  ‘‘गोरखापत्रले १२४ वर्ष अगाडि ‘सर्वे भवन्तु सुखिन सर्वे सन्तु निरामय । सर्वे भद्राणि पश्यन्तु मा कश्चिद दुःख भाग्जनः ।’ लेखेको छ