• ४ साउन २०८१, शुक्रबार

गठबन्धन प्रभावित नहुने

blog

स्मृति मिश्र

धनुषा, जेठ २६ गते । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले मन्त्रिपरिषद् फेरबदलकै कारण पाँच दलीय गठबन्धन प्रभावित नहुने बताउनुभएको छ । मङ्गलबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा उहाँले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई सरकारमा सहभागी गराए आफूहरूले स्वागत गर्ने बताउनुभयो । 

“मन्त्रिपरिषद् फेरबदलकै कारण पाँच दलीय गठबन्धन प्रभावित हुँदैन । आगामी प्रतिनिधि सभा तथा प्रदेश निर्वाचनमा पाँच दलीय गठबन्धन कायम रहन्छ,” उहाँले भन्नुभयो । आफूहरू लोकतन्त्रलाई संस्थागत गर्न पाँच दलीय गठबन्धनको थप निरन्तरता चाहेको उहाँले बताउनुभयो । अध्यक्ष यादवले लोसपा नेपाललाई सरकारमा सामेल गराउन जसपाको दुई मन्त्री फिर्ता बोलाउने भन्ने कुरा हल्लाभएको दाबी गर्नुभयो । 

विगतमा राजपा नेपाल र समाजवादी पार्टी एकीकृत भएर बनेको जसपा नेपालको विभाजन कसको हितमा भएको र त्यसबाट के उपलब्धी प्राप्त भयो भन्ने विषयमा समीक्षा आवश्यक रहेको बताउनुभयो । “अझै त्रुटिलाई सच्चाउन सकिने समय हामीसँग छ । दुवै पार्टी जुटेरै अघि बढ्नुपर्छ,” उहाँले भन्नुभयो । 

‘मन्त्रिपरिषद् फेरबदलकै कारण पाँचदलीय गठबन्धन प्रभावित हुँदैन । आगामी प्रतिनिधि सभा तथा प्रदेश निर्वाचनमा पाँचदलीय गठबन्धन कायम रहन्छ’

मधेशले अहिले पनि आन्तरिक उपनिवेशको पीडा भोगिरहेको उल्लेख गर्दै उहाँले मधेशी जनता अझै बहिष्करणमा परेको र समान नागरिक हैसियत, सम्मान र अधिकारबाट वञ्चित रहेकाले उनीहरूका पहिचान, समावेशिता र प्रतिनिधित्व स्थापित गराउन दुवै दल जुट्नै पर्ने बताउनुभयो । नागरिकता प्रमाणपत्रका आधारमा मतदाता बन्न पाउने व्यवस्था दुर्भाग्यपूर्ण रहेको बताउँदै नागरिकताको प्रमाणपत्र हुनु र नागरिक हुनु फरक कुरा रहेको उहाँले उल्लेख गर्नुभयो । उहाँले संसद्को जारी बैठकबाट जन्मसिद्ध नागरिकका सन्तानले नागरिकता प्रमाणपत्र पाउने गरी ऐन ल्याइने जानकारी दिनुभयो । 

अध्यक्ष यादवले जनसङ्ख्याका आधारमा निर्वाचन क्षेत्र कायम हुनुपर्ने भन्दै पछिल्लो जनगणनाअनुसार मधेशमा भएको जनसङ्ख्या वृद्धिका आधारमा तराई मधेसको ५३ प्रतिशत नागरिकको प्रतिनिधित्व हुने गरी निर्वाचन क्षेत्र पुनरावलोकन हुनुपर्ने माग राख्नुभयो । उहाँले पहिलेको जनगणनाअनुसार तराई मधेशका ४७ प्रतिशत जनसङ्ख्याका आधारमा निर्धारण गरिएका निर्वाचन क्षेत्र पुनरावलोकन गर्न जरुरी रहेको विषय औँल्याउनुभयो । 

उहाँले प्रत्यक्ष र समानुपातिक प्रतिनिधित्व हुने निर्वाचन प्रणाली खिचडी भएको टिप्पणी गर्दै यस्तो निर्वाचन प्रणाली महँगो, राजनीतिक सत्ता तथा शक्ति गलत व्यक्तिको हातमा जाने र अन्ततः लोकतन्त्रप्रति नै जनतामा अनास्था उत्पन्न गराउने खालका भएकाले पूर्ण समानुपातिक निर्वाचन प्रणालीका पक्षमा जसपा नेपाल रहेको बताउनुभयो ।    

उहाँले निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा समानुपातिक तर्फ निर्वाचित गर्ने फम्र्याटमा खसलाई अग्रपङ्क्तिमा राखेर सामाजिक न्यायबाट वञ्चित र बहिष्करणमा परेका समुदायको प्रतिनिधित्वमा छेकबार लगाएको आरोप लगाउनुभयो । 

मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा गए पनि एकात्मक प्रणाली नै हावी रहेकोसमेत अध्यक्ष यादवले बताउनुभयो ।