काठमाडौं, वैशाख २४ गते । नेपाली पत्रकारितामा एक जीवन्त दस्तावेज बनेको छ गोरखापत्र । नेपाली समाजको हरेक घटनाको जीवित साक्षी बन्दै आएको छ । त्यही कारण यसले आफ्नो गर्विलो इतिहास बनाएको छ ।
सरकार र नागरिकलाई जोड्ने एक बलियो पुल (माध्यम) को भूमिका खेल्दै आएको यो पत्रिका आफैमा नेपाली पत्रकारिताको पाठशाला हो । गोरखापत्र केवल प्रकाशन मात्र नभइ ज्ञान पुस्तान्तरणको बाहक पनि बनेको पाठकको बुझाइ छ ।
गोरखापत्रको प्रकाशन आरम्भ भइरहँदा मुलुकमा जहानियाँ राणा शासनको जगजगी थियो । सीमित व्यक्ति र समूहमा सूचनाको पहुँच विस्तार गर्न स्थापना भएको गोरखापत्र आज जनजनको सूचनाको भरपर्दो र विश्वासिलो माध्यम बन्न सफल भएको छ । गोरखापत्र अब केवल पत्रिका रहेन, नागरिकको अध्ययनको खुराक र ज्ञान बाँड्ने बलियो स्रोत बन्न सफल भएको छ ।
गोरखापत्र नागरिकलाई सुसुचित गर्ने मात्र होइन, अभिप्रेरित र शिक्षित गर्ने बलियो माध्यम बनेको छ । त्यहीकारण यसले पाठकको मन जितेको छ । गोरखापत्र नेपालको राजनीतिक, सामाजिक आर्थिक र सांस्कृतिक रूपान्तरणको सारथि बनेको छ । गोरखापत्र बनाउन यहाँ हजारौंको पसिना र परिश्रम जोडिएकाले यसका हरेक उत्पादनमा गाम्भीर्य र परिस्कृत हुनुपर्ने पाठकको माग छ ।
तत्कालीन प्रधानमन्त्री श्री ३ देवशमशेर जबराले विसं १९५८ वैशाख २४ देखि ‘गोर्खापत्र’ को प्रकाशन थालनी गराउनुभयो । यही पत्रिका नेपाली पत्रकारिताको मानक बन्न सफल भयो । गोरखापत्र दैनिकसम्म आइपुग्दा नेपाली पत्रकारितालाई पल्लवित मात्र गरेको छैन, नेपालमा पत्रकार उत्पादनको कारखाना बनेको छ । सुरुमा गोरखापत्र सोमबार प्रकाशित भए पनि विसं १९९१ वैशाख ९ देखि प्रत्येक साता शुक्रबार छपाइ सुरु भएको थियो ।
विसं १९८४ वैशाख १३ गते पर्साको वीरगन्जकी १३ वर्षीय सूर्यमती श्रेष्ठले चन्द्रकामधेनु चर्खाद्वारा धागो कातिरहेको तस्बिर गोरखापत्रमा पहिलो पटक प्रकाशित भयो । त्यही दिनको स्मरणमा राष्ट्रिय फोटो पत्रकारिता दिवस वैशाख १३ गते मनाउने गरिन्छ ।
विसं २००० असोज २९ गते अर्धसाप्ताहिक प्रकाशन आरम्भ गरेको गोरखापत्र मङ्गलबार र शुक्रबार प्रकाशन हुनथाल्यो । तीन वर्षपछि २००३ पुस ८ देखि सातामा तीन अङ्क प्रकाशन सुरुभयो । २०१७ फागुन ७ देखि गोरखापत्र दैनिक प्रकाशन प्रारम्भ भयो । विसं २०१९ कात्तिक २ देखि २०२२ असोज २२ सम्म बिहान र साँझ गरी दिनमा दुई पटक प्रकाशन भयो ।
विसं २०१९ असार ९ देखि शनिबारीय परिशिष्टाङ्क प्रकाशन आरम्भ भयो । साप्ताहिक प्रकाशन आरम्भ गर्दा मास्टहेडमा ‘गोर्खापत्र’ लेखिए पनि विसं १९८३ जेठ ४ देखि ‘गोरखापत्र’ लेख्न सुरु गरियो ।
२०६१ माघ १९ गते तत्कालीन राजा ज्ञानेन्द्र शाहले ‘कु’ गरी सत्ता हातमा लिएपछि गोरखापत्रलाई परिवर्तन गरी ‘गोर्खापत्र’ पुनः छाप्न लगाएका थिए । २०६३ वैशाख ११ गते २०६२–६३ को जनआन्दोलन सफल भएर देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र आएपछि सोही वर्ष वैशाख १८ गतेदेखि पुनः ‘गोरखापत्र’ छापिन थाल्यो ।
उदार देवशमशेर र जयपृथ्वीबहादुर सिंह
सुधारवादी प्रधानमन्त्रीका रूपमा परिचित तत्कालीन प्रधानमन्त्री देवशमशेर र समाज सुधारक जयपृथ्वीबहादुर सिंह गोरखापत्रको प्रकाशनलाई निरन्तरता दिने कामका लागि सदैव सम्झिने नाम हो । गोरखापत्र प्रकाशन थालेकै कारण देवशमशेरलाई पदबाट हट्नु परेको थियो । त्यसपछि उहाँका भाइ चन्द्रशमशेर प्रधानमन्त्री बन्नुभयो ।
देव शमशेर राजकाज छाडेर धनकुटा हुँदै भारत जानुभयो । १९७० मा भारतको मैसुरीमै उहाँको निधनभयो । देवशमशेरको अवधारणा अनुसार अखबार रुपान्तरण नभए पनि प्रकाशन कार्यले निरन्तरता पायो, त्यतिबेला । अहिले गोरखापत्र राज्यको मुखपत्र बनेको छ । ‘वि.सं. १९५८ वैशाख वदी ११ रोज २ को सनदमार्फत ‘गोर्खापत्र’ प्रकाशनको जिम्मेवारी पण्डित नरदेव पाँडेलाई दिइएको थियो । गोरखापत्रको पहिलो अङ्क नेपाल सम्वत् १९५८ ज्येष्ठवदी ३ सोमबार अर्थात् १९५८ साल वैशाख २४ गते तदनुसार सन् १९०१ मे ६ तारिखका दिन प्रकाशन भएको थियो ।
देवशमशेरपछि ‘गोर्खापत्र’ लाई अघि बढाउने दायित्व जयपृथ्वीबहादुर सिंहमाथि आयो । विसं १९६० भदौ २२ गते तत्कालीन बझाङ्गी राजा जयपृथ्वीबहादुर सिंह गोरखापत्रको तालुकदार जिम्मेवारीमा आउनुभयो । उहाँ तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेरका छोरीज्वाइँ हुनुहुन्थ्यो ।
विसं १९३४ मा जन्मिएका सिंह १९४६ मा बझाङ राज्यको राजा हुनुभएको थियो । १९५१ सालमा चन्द्रशमशेरकी छोरीसँग विवाहपछि राणा परिवारसँग उहाँको सम्बन्ध जोडिएको थियो । १९५९ कात्तिकदेखि गोरखापत्रको जिम्मेवारी सम्हाल्नुभएको थियो । सुधारवादी विचारक सिंहले शिक्षा र चेतना फैलाउने काममा तल्लीन रहनुभयो । सिंहको वि.स. १९९७ मा भारतको बैङ्गलुरुमा निधनभयो । सिंहको कामको सम्मान गर्दै वि.सं २०५५ वैशाख २४ गते गोरखापत्र संस्थानको धर्मपथस्थित कार्यालयअगाडि उहाँको अर्धकदको सालिक निर्माण गरियो ।
सनद जारी
वि.सं १९५८ वैशाख १ वदी ११ रोज २ मा ‘गोर्खापत्र’ को प्रकाशनका लागि सनद जारी भयो । ‘गोर्खापत्र’ मा छाप्न हुने र नहुने विषय उल्लेख गरेर सनद जारी भएको थियो । वि.सं १९५८ वैशाख २४ गते गोरखापत्र साप्ताहिक रूपमा प्रकाशन आरम्भ भयो । त्यतिबेला जिम्मेवारीमा पण्डित नरदेव पाण्डे हुनुहुन्थ्यो । अभिलेखअनुसार विसं १९९१ जेठ ५ गते प्रकाशित अङ्कदेखि प्रेमराज सम्पादक हुनुभयो । त्यसअघि सम्पादकको नाम छाप्ने प्रचलन थिएन ।
गोरखापत्रले पहिलो अङ्कदेखि ‘एडिटरको राय’ शीर्षक राखेर सम्पादकीय लेखन सुरु गरेको थियो । पहिलो प्रधान सम्पादकको जिम्मेवारी साहित्यकार, नाटककार बालकृष्ण समले समाल्नु भएको थियो । विसं २०१२ भदौ ३० देखि २०१४ असोज २३ सम्म प्रधान सम्पादकमा रहेर उहाँले जिम्मेवारी निर्वाह गर्नुभयो । दैनिक प्रकाशन सुरुभएपछि गोरखापत्रको प्रधान सम्पादकको जिम्मेवारीमा गोपालप्रसाद भट्टराई हुनुहुन्थ्यो । तत्कालीन राणा प्रधानमन्त्री जङ्गबहादुर राणाले विसं १९०८ मा बेलायत भ्रमणबाट फर्किंदा ‘गिद्धे प्रेस’ ल्याउनुभएको थियो ।
गोरखापत्रका अन्य प्रकाशन
२०२२ पुस १ गतेदेखि ‘दी राइजिङ नेपाल’ अंग्रेजी दैनिक प्रकाशन सुरुभयो । ‘दी राइजिङ नेपाल’ को पहिलो सम्पादक वरुणशमशेर राणा हुनुहुन्थ्यो ।
२०२५ जेठदेखि साहित्यिक मासिक पत्रिका ‘मधुपर्क’ प्रकाशन भयो । ‘मधुपर्क’ गोरखापत्र संस्थानको तेस्रो प्रकाशन हो ।
२०४५ असारदेखि संस्थानको चौथो प्रकाशन ‘युवामञ्च’ प्रकाशन आरम्भ भयो । यवालाई लक्षित गरी यो मासिक प्रकाशन सुरु गरिएको थियो ।
२०४७ पुसदेखि बाल मासिक ‘मुना’ प्रकाशन सुरु भयो ।
वि.सं. २०५९ देखि गोरखापत्र अनलाइन संस्करणमा गयो । सुरुको डोमेन गोरखापत्र डट ओआरजी डट एनपी थियो ।
२०६९ मङ्सिरदेखि नयाँ डोमेन गोरखापत्रअनलाइन डट कमबाट प्रकाशन सुरुभयो । २०७६ भदौ २४ गते सूचना विभागमा दर्ताभयो ।
२०६४ असोज १ गतेदेखि बहुभाषिक पृष्ठ ‘नयाँ नेपाल’ पृष्ठ शीर्षक अन्तर्गत राष्ट्रभाषामा समाचार सामग्री प्रकाशनको सुरुभयो । अहिले ४५ भाषामा समाचार सामग्री प्रकाशन हुँदैआएको छ ।
२०७२ फागुन १७ गते राष्ट्रिय पत्रकारिता दिवस मनाउने घोषणाभयो । फागुन १७ गते सोमबार बसेको मन्त्रीपरिषद् बैठकले गोरखापत्र प्रकाशन सुरु भएको दिन वैशाख २४ लाई ‘राष्ट्रिय पत्रकारिता दिवस’ मनाउनेगरी निर्णय गरेको थियो ।
२०७६ असोज ३ गतेदेखि संविधान दिवसको सन्दर्भ पारेर विराटनगरबाट छपाई आरम्भ भयो ।
२०७६ फागुन ७ गतेदेखि कोहलपुरबाट ‘कोहलपुर संस्करण’ थालनी भयो ।
प्रतिस्पर्धी बजारमा गोरखापत्र
गोरखापत्रको विश्वसनीय र सन्तुलित प्रकाशनको साख जोगाउँदै प्रतिस्पर्धी बजारमा युग सुहाउँदो गरी खरो उत्रनु अहिलेको प्रमुख चुनौती रहेको छ । त्यसका लागि गोरखापत्र संस्थान ऐन २०१९ लाई परिमार्जनको कामको थालनी भएको छ । सञ्चार तथा सूचना प्रविधिमनत्री पृथ्वीसुब्बा गुरुङले यसको सुरुवात गर्नुभएको छ ।
गोरखापत्रको दायित्व सरकार र राज्यप्रति रहे पनि जनतासँग सरोकार राख्ने सूचना र समाचारलाई प्राथमिकतामा राख्दै आएको छ । गोरखापत्रको देशभरी दुईसय बढी समाचारदाता छन् । देशभरका समाचार पस्कने काम गोरखापत्रले गर्दैआएको छ । यसर्थ यसले जनता र सरकारविचको पुलको काम गर्दैआएको छ । देशभरी पुग्ने एकमात्र पत्रिका गोरखापत्रद्वारा उत्पादित समाचारमा देश बोलेको हुन्छ, जनता बोलेका हुन्छन् । देशको खुशी र पीडा दुवै बोलिएको हुन्छ । यसर्थ गोरखापत्र राष्ट्रिय एकता र अखण्डताको पक्षमा दह्रोगरी उभिएको छ ।
अहिले न्यूमिडियाले बजार तताएको छ । विश्वसनीय र सन्तुलित समाचारको खडेरी छ । अनलाइन न्यूज पोर्टल र सामाजिक सञ्जालका सूचनाले पाठकलाई मिसइन्फर्म र डिसइन्फर्म गरिरहेको छ । पाठकका लागि समाचार छनौटमा अवसर प्राप्त भए पनि भ्रामक समाचारले पाठकलाई अल्मल्याउने गरेको छ । नेपाली पत्रकारितामा कान्छो पत्रकारिताको रुपमा आएको न्यूमिडियाले अवसर र चुनौती दुवै थपिदिएको छ । समाचारको विश्वसनीयता, शिष्टता र सन्तुलन कायम गर्नु अहिलेको प्रमुख चुनौती बनेको छ । गोरखापत्रजस्तो इतिहास बोकेको पत्रिका र यसको अनलाइन प्रकाशनले पाठकको चाहना र रुचीलाई मुख्य आधार बनाएर समाचार उत्पादन र प्रकाशन गर्दैआएको छ । आगामी दिनमा पनि हामी यसका लागि सदैव तत्पर रहने प्रतिवद्धता व्यक्त गरेका छौं ।
प्रकाशनको १२५ वर्ष प्रवेश तथा संस्थानको ६३ औं वार्षिकोत्सवको अवसरमा समस्त पाठक, विज्ञापनदाता र शुभेच्छुकहरुमा हार्दिक शुभकामना ।