• ४ साउन २०८१, शुक्रबार

तीन समिति सभापतिविहीन

blog

काठमाडौँ, जेठ २६  गते । राष्ट्रिय सभाअन्तर्गतका तीनवटा संसदीय समिति तीन महिनादेखि सभापतिविहीन छन् । राष्ट्रिय सभामा २०७८ फागुन २० गतेदेखि एकतिहाइ सदस्यको कार्यकाल सकिएको थियो । सभापतिको पनि त्यतिबेला कार्यकाल समाप्त हुँदा समिति सभापतिविहीन भएका हुन् । 

राष्ट्रिय सभामा दिगो विकास तथा सुशासन, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन, विधायन व्यवस्थापन र राष्ट्रिय सरोकार तथा समन्वय समिति रहेका छन् । राष्ट्रिय सरोकार तथा समन्वय समितिबाहेकमा सभापति पद रिक्त छ । 

सङ्घीय संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले समितिका सभापतिको निर्वाचन तयारीका लागि कुनै निर्णय नभएको बताउनुभयो । मिनी संसद्का रूपमा रहने संसदीय समिति रिक्त हुँदा समितिका छलफल र काम प्रभावित भएका छन् । 

राष्ट्रिय सभामा प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले)को दलका नेता खिमलाल भट्टराईले सत्ता पक्षले चासो नदेखाएकाले समिति सभापतिविहीन भएको बताउनुभयो । 

राष्ट्रिय सभा नियमावलीमा प्रत्येक दुई वर्षमा समितिका सभापतिको निर्वाचन हुने व्यवस्था छ । राष्ट्रिय सभामा प्रत्येक दुई वर्षमा नयाँ सदस्य आउने व्यवस्था छ । नयाँ सदस्य आएसँगै सभापतिको निर्वाचन गर्ने कानुनी व्यवस्था गरिएको छ । 

सरकारलाई राष्ट्रिय सभाप्रति उत्तरदायी र जवाफदेही बनाउन, सरकारका कामकारबाहीको अनुगमन र मूल्याङ्कन गरी आवश्यक निर्देशन वा राय सल्लाह दिन राष्ट्रिय सभामा समिति रहनेछन् भनी राष्ट्रिय सभा नियमावलीमा उल्लेख छ । 

उपाध्यक्ष पनि खाली 

राष्ट्रिय सभामा उपाध्यक्षको पद पनि तीन महिनादेखि रिक्त छ । राष्ट्रिय सभाका उपाध्यक्ष शशीकला दाहालको कार्यकाल गत फागुनमा सकिएपछि उक्त पद रिक्त रहेको हो । 

बुधबार बसेको राष्ट्रिय सभा बैठकमा जनता समाजवादी पार्टीका सांसद प्रमिला कुमारीले उपाध्यक्ष रिक्त हुँदा कतिपय मुद्दाको उचित सम्बोधन हुन नसकेको भन्दै ध्यानाकर्षणसमेत गराउनुभयो । नेपाली कांग्रेसको दलका नेता पनि राष्ट्रिय सभामा चयन हुन सकेको छैन । नेपाली कांग्रेसबाट दलका नेता रहनुभएका सांसद राधेश्याम अधिकारीको गत फागुन २१ गतेदेखि कार्यकाल समाप्त भएको थियो । 


Author

सविता शर्मा