• ९ जेठ २०८१, बुधबार

रिट्ठेभीरको भित्तो ऐनाले भरियो

blog

सिन्धुली समाचारदाता

रिट्ठेभीर (सिन्धुली), जेठ २६ गते । बीपी राजमार्गअन्तर्गत सिन्धुलीको सुनकोसी गाउँपालिका–५, रिट्ठेभीरस्थित सेतीदेवी मन्दिरमा ऐना चढाउनेको सङ्ख्या बढ्दै गएको छ ।बीपी राजमार्गमा ठूल्ठूला सवारी दुर्घटना हुन थालेपछि दुर्घटनालाई टार्न भन्दै उक्त राजमार्गका यात्रुले सेतीदेवीलाई खुसी पार्न ऐना चढाउन थालेका हुन् । यतिखेर यात्रुले चढाएको ऐनाले मन्दिर वरपर रहेको बीपी राजमार्गको किनारमा रहेको रिट्ठेभीरको भित्तो टपक्कै भरिएको छ । अहिले भित्तामा सयौँको ऐना झुण्डिएको देखिन्छ ।

ऐना संरक्षणमा बस्नुभएका स्थानीय डम्बरबहादुर हायुका अनुसार बीपी राजमार्ग निर्माणका क्रममा बनाइएको मन्दिर नजिकैको रिट्ठेभीरको ट्र्याक सडकमा २०६८ सालमा चारवटा सवारी दुर्घटना भएका थिए । त्योमध्ये २०६८ वैशाख र असोजमा रिट्ठेभीरमा भएका दुर्घटना अहिले पनि सम्झँदा जिउ नै सिरिङ्ग हुन्छ । २०६८ वैशाख २० गते यात्रु बस रिट्ठेभीरबाट सुनकोसी नदीमा खस्दा १३ जनाको घटनास्थलमै ज्यान गएको थियो । सोही वर्षको असोज २६ गते दशैँ मनाएर काठमाडौँ फर्कंदै गरेका यात्रु बोकेको बस सोही ठाउँबाट सुनकोसीमा खस्दा ४१ जनाले घटनास्थलमै ज्यान गुमाए । 

“सेतीदेवीलाई खुसी पार्दा यात्रा सफल हुने र दुर्घटना टर्ने विश्वास छ । त्यही विश्वासमा सेतीदेवीलाई शृङ्गारको सामान ऐना चढाइएको हो,” उहाँले भन्नुभयो, “हाल सात हजारभन्दा बढी ऐना बीपी राजमार्गको भित्तामा छन् ।” राजमार्ग बन्नु पहिले सेतीदेवीको मन्दिर राजमार्गभन्दा तल सुनकोसी नदीको किनारमा मानिस हिँड्ने गोरेटो बाटोको भित्तामा थियो । पछि राजमार्ग मन्दिरभन्दा माथिबाट बनेपछि सवारीसाधनमा हिँड्ने यात्रुले आफूलाई कुल्चेको भन्दै देवी रिसाएपछि दुर्घटना बढेको जनविश्वास छ ।

राजमार्ग निर्माण कम्पनी हाज्माले मन्दिर बीपी राजमार्गको भित्तामा बनाइदिएपछि ऐना चढाउन सुरु गरिएको पूर्ववडाध्यक्ष सन्तोष दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार सेती देवीका नाममा उक्त मन्दिरमा बा. २ ख ८८२५ नम्बरको गाडीले सबैभन्दा पहिला ऐना चढाएको र त्यहीँबाट ऐना चढाउने सुरु भएको हो ।

स्थानीयका अनुसार ऐना चढाउनुमा अर्को भनाइ छ । दुर्घटनाको केही वर्षपछि ४१ जनाको शव जम्मा पारिएको मूलकोट चौरमा सप्ताह (पुराण) लगाइएको थियो । दुर्घटनामा मृत्यु हुनेका परिवारजन, मूलकोट र आसपासका बासिन्दाको उपस्थितिमा चलिरहेको सप्ताह सुनेर सिन्धुलीतर्फ बसको यात्रामा जाँदै गरेकी एक महिलाले रिट्ठेभीरमा बस रोक्न लगाइन् र झरिन् । म सेतीदेवी हुँ’ भन्दै ती महिलाले काम्दै सबैसामु आफू सेतीदेवी भएको र आफ्नो बासस्थानमा क्षति पु-याएपछि मान्छेको भोग लिन थालेको बताइन् । हाल ऐना चढाइएको ठाउँमा पुगेर आफ्नो बासस्थान त्यहीँ भएको जनाएपछि बीपी राजमार्गको भित्ता खोपेर देवीको मन्दिर स्थापना गरी ऐना चढाउने गरिएको र हाल भित्ताभरि ऐना रहेको पूर्ववडाध्यक्ष दाहाल बताउनुहुन्छ । 

सेतीदेवी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष मनोज श्रेष्ठका अनुसार सेतीदेवीको दर्शन गर्न आउनेको सङ्ख्या दैनिक रूपमा बढ्दै गएको छ । “ठाउँ अप्ठ्यारो छ, त्यही अप्ठ्यारो र साँघुरो सडकमै पार्किङ गरेर सेतीदेवीलाई ऐनालगायतका शृङ्गारका सामान चढाउने र दर्शन गर्नेको भीड हुन्छ,” उहाँले भन्नुभयो, “ऐना व्यवस्थित गर्न नजिकै अर्को मन्दिर बनाएका छौँ तर जहाँ आस्था हुन्छ, चढाइने सामानको थुप्रो त्यहीँ हुँदो रहेछ ।” ऐना संरक्षण गर्नका लागि दुई जना पुजारी र संरक्षणकर्ता राखेको उहाँले जानकारी दिनुभयो । ऐना चढाउन थालेपछि त्यस स्थानमा दुर्घटनासमेत हुन छाडेको स्थानीय बताउँछन् ।