• २ माघ २०८२, शुक्रबार

तारेभीरमा ‘रक क्लाइम्बिङ’

blog

मस्र्याङ्दी गाउँपालिका –४ च्याम्चेको तारेभीरमा ‘रक क्लाइम्बिङ’ को अध्ययन गरिदै । तस्बिरः नवीनराज कुइँकेल

नवीनराज कुइँकेल

लमजुङ, माघ १ गते । लमजुङको मस्र्याङ्दी गाउँपालिका –४ च्याम्चेको तारेभीरलाई ‘रक क्लाइम्बिङ’ को प्रमुख गन्तव्य बनाइने भएको छ । 

चक्रीय अन्नपूर्ण पदमार्गमा पर्ने तारेभीरमा ‘रक क्लाइम्बिङ’ को थप सम्भाव्यता र रुटबारे मस्र्याङ्दी गाउँपालिकाले अध्ययन थालेको हो । उक्त भीर रक क्लाइम्बिङको लागि उपयुक्त रहेको निष्कर्ष अन्तर्राष्ट्रिय माउन्टेन गाइडको समूहले निकालेको छ ।

आठ वर्षअघि नै तारेभीरमा ‘रक क्लाइम्बिङ’ बारे अन्तर्राष्ट्रिय माउन्टेन गाइड समूह र गण्डकी अल्पाइन क्लबले अध्ययन गरेको थियो । यस ठाउँमा ‘रक क्लाइम्बिङ’ गर्न उपर्युक्त रहेको निष्कर्ष आएपछि थप रुटको खोजी थालिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले बताउनुभयो । 

उहाँले भन्नुभयो, “तारेभीरमा रक क्लाइम्बिङको अध्ययन तथा परीक्षण सफल भएको छ । नयाँ रुट पनि खोजेर यसलाई रक क्लाइम्बिङका लागि नेपालको मात्र नभई विश्वकै उत्कृष्ट प्रशिक्षण थलो बनाउन लागिपरेका छौं ।”

रक क्लाइम्बिङस्थलको पूर्वाधार निर्माण गर्न प्रदेश सरकार र संघीय सरकारलाई आग्रह गरी व्यवस्थित रूपमा अगाडि बढाइने उहाँले बताउनुभयो । साथै उक्त भीरमा रक क्लाइम्बिङको लागि भएको अध्ययन र सम्भाव्यताबारे स्थानीयलाई भेला गरी जानकारी गराइसकिएको पनि उहाँले जानकारी दिनुभयो ।

अन्तर्राष्ट्रिय माउन्टेन गाइड अनुप गुरुङले साहसिक खेल रक क्लाइम्बिङका लागि च्याम्चेको तारेभिर उत्कृष्ट रहेको बताउनुभयो । च्याम्चेको तारेभिरमा गरिने रक क्लाइम्बिङले चक्रीय अन्नपूर्ण पदमार्गको आकर्षण थपिने उहाँको भनाइ छ । साहसिक पदयात्राका लागि प्रस्तावित तारेभिर च्याम्चेबजारबाट पाँचसय मिटरको दूरीमा पर्दछ । 

भौतिक पूर्वाधार निर्माण तथा यसको गुरुयोजना निर्माणको लागि यसको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) तयार गरेर अघि बढ्ने गरी मस्र्याङ्दी गाउँपालिका र गण्डकी अल्पाइन क्लबअघि बढेका छन् । 

तारेभीर समुद्री सतहदेखि एक हजार पाँचसय ४० मिटर उचाइमा पर्दछ । उक्त स्थलमा २५ मिटरदेखि एक सय ५० मिटर उचाइसम्मको साहसिक खेलको स्थल निर्माण गर्न सकिनेछ । रक क्लाइम्बिङस्थल लमजुङ सदरमुकाम बेंसीसहरदेखि मनाङतर्फ करिब ३० किलोमिटर दूरीमा पर्छ । 

तारे भीरमा रक क्लाइम्बिङमात्रै नभई विभिन्न तालीम तथा प्रशिक्षण केन्द्रका रूपमा विकास गरिने मस्र्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले बताउनुभयो ।