गोरखापत्र अनलाइन
काठमाडौं, माघ १ गते । प्रधानमन्त्री सुशीला कार्कीले थारू समुदायको मौलिक संस्कृति, भाषा र पहिचानको संरक्षण तथा प्रवर्धनमा सरकार सदैव प्रतिवद्ध रहेको बताउनुभएको छ ।
थारू राष्ट्रिय माघी महोत्सव २०८२ को उदघाटनसत्रमा बिहीबार यहाँ सम्बोधन गर्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो । माघी पर्व थारू समुदायको नयाँ वर्ष भएकाले यस पर्वले सबै नेपालीमा नयाँ उर्जा, आशा र एकताको सन्देश फैलाउने विश्वास व्यक्त गर्नुभयो ।
थारू समुदायको विशेष पर्व माघीजस्ता पर्वले समाजमा शान्ति, सहिष्णुता, सदभाव र राष्ट्रिय एकता कायम गर्न सहयोग गर्नेगरेको बताउँदै प्रधानमन्त्री कार्कीले भन्नुभयो, “विश्व मानचित्रमा नेपाल एकता, सद्भाव र सहअस्तित्वको अनुपम उदाहरण बनेर उभिएको छ । यही नै हाम्रो मौलिक पहिचान हो, यही नै हाम्रो शक्ति हो ।”

“नेपाल विविध जातीय समुदायको घर भएको बताउँदै उहाँले पर्व विभिन्न तौर तरिकाले मनाउने गरिए पनि त्यसको मूल मर्म एउटै छ, त्यो हो आपसी सम्मान, एकता, सद्भाव र सहअस्तित्व” उहाँले भन्नुभयो ।
आफू थारु समुदायको बिच जन्मेहुर्केको चर्चा गर्नुहुँदै प्रधानमन्त्री कार्कीले थारू समुदायको परिकारको विशेष स्वाद अझै आफ्नो जिब्रोमा भिजेको बताउनुभयो । माघी पर्व आफ्नो लागि र सबै नेपालीका लागि विशेष पर्व भएको उहाँले चर्चा गर्नुभयो । पूर्व झापादेखि पश्चिमको कञ्चनपुर र काठमाडौं उपत्यकासहित देश विदेशमा फैलिएको थारू समुदाय जहाँ पुगे पनि साझा दायित्व मौलिक संस्कृति, भाषा, पहिचान र परम्परा जोगाइराख्नु हो, उहाँले भन्नुभयो ।

‘थारू कला संस्कृति हाम्रो पहिचान, यसको संरक्षण र प्रवर्धन गर्ने हाम्रो अभियान’ मूल नारासाथ सुरुभएको थारु माघी महोत्सवले नेपालीको एकता, सदभाव र सहिष्णुता कायम कायम गर्ने भन्दै प्रधानमन्त्री कार्कीले माघी पर्व २०८२ को अवसरमा सबै नेपालीलाई शुभकामना व्यक्त गर्नुभयो ।