राधा लुइटेल
फिदिम, माघ, १ गते । पाँचथरको सदरमुकाम फिदिममा पहिलो पटक ‘रैथाने खाना महोत्सव’ सुरु भएको छ । नेपाल मगर संघ जिल्ला समिति पाँचथरले माघे संक्रान्तीको अवसर पारेर खाना महोत्सव आयोजना गरेको हो ।
जिल्ला समन्वय समिति पाँचथर अगाडी रहेको वी।पी। पार्कमा आयोजित महोत्सवमा नेवारी, तामाङ, शेर्पा, गुरुङ, राई, नेवार, मगर, गुरुङ र लिम्बूसहित पाँचथरमा बसोबास गर्ने विभिन्न जाति जनजातिका संस्कृतिमा आधारित रैथाने खानेकुरा राखिएको छ ।
कृषि कर्ममा प्रयोग गरिएका औजार र जडिबुटीसँगै वन उद्यमसँग सम्वन्धित वस्तुहरु प्रदर्शनीमा राखिएको छ ।
नेपाल मगर संघ पाँचथरका अध्यक्ष यौवनकुमार थापा मगरले ‘रैथाने खानाको प्रवर्द्धन, आन्तरिक तथा बाह्य पर्यटनको सम्वर्द्धन’ भन्ने नारासहित महोत्सव आयोजना गरिएको बताउनुभयो ।
महोत्सव उद्घाटनअघि पूर्व फिदिम बजार क्षेत्रमा अवस्थित शिवालय मन्दिरदेखि र्याली निकालिएको थियो । र्यालीमा यस क्षेत्रमा बसोबास गर्ने विभिन्न जात जातीका साँस्कृतिक झाँकी समेत प्रस्तुत गरिएको छ ।
खाना महोत्सव आयोजना स्थानमा समेत साँस्कृतिक कार्यक्रम प्रदर्शन गरिएको छ । फिदिम नगरपालिकाको प्रवर्द्धनमा महोत्सव आयोजना गरिएको आयोजकले जनाएको छ ।
कार्यक्रमले जिल्लाको सांस्कृतिक विविधता उजागर गर्नुका साथै स्थानीय पर्यटन प्रवर्द्धनमा सकारात्मक योगदान पुग्ने विश्वास आयोजकको रहेको छ ।