• १ माघ २०८२, बिहिबार

सेवा ढोग लाग्दै पुर्खाको आशीर्वाद ग्रहण

blog

अभिभावकसँग सेवा ढोग लाग्दै । तस्बिरः अविनाश चौधरी

अविनाश चौधरी

धनगढी, माघ १ गते । थारु समुदायमा माघ (माघी) पर्वको दोस्रो दिन आज विहानै नदीनालामा स्नान गरेर आफ्ना पुर्खाहरुको आशीर्वाद ग्रहण गरिएको छ । 

विहानैदेखि सेवा ढोग लाग्दै ठुलावडा, मान्यजनबाट आशीर्वाद लिइएको हो । माघ लहान अर्थात माघ पर्वको दोस्रो दिन एक आपसमा खुशीयाली साटासाट गर्दै सेवाढोग लाग्ने चलन रहेको छ । गोदावरी नगरपालिका–८ मजगाउँका टीकासिंह चौधरीका अनुसार यस दिन इष्टमित्र, आफन्त सबै एक अर्काको घरमा पुगेर सेवा, ढोग लाग्ने र सुङ्गुरको मासु, ढिक्री, तरुल लगायतका मिठामिठा परिकार खाने, रमाउने चलन रहेको छ । 

यसदिन सानाठुला सबैले विहानै स्नान गरेमा वर्षदिनभरी गरिएका पाप कटेर पूण्य प्राप्त हुने जनविश्वास रहेको छ । थारु समुदायका मानिसले यस दिन पानीमा पैसा राखेर मात्रै स्नान गर्ने गरेका छन् । यस दिन पानी किनेर मात्रै नुहाउनु पर्छ भन्ने मान्यता रहेको छ ।