• २३ वैशाख २०८२, मङ्गलबार

तीन हजार मेट्रिक टन क्षमताको शीत भण्डार सञ्चालनमा

blog

पुरुषोत्तम सुवेदी

पश्चिम नवलपरासी, वैशाख २३ गते । पश्चिम नवलपरासीको सुनवल नगरपालिका‐२ मुखियाटोलमा निर्माण गरिएको तीन हजार मेट्रिक टन क्षमताको शीत भण्डार पहिलो पटक पूर्ण क्षमतामा सञ्चालनमा आएको  छ । गत वर्षदेखि सञ्चालनमा आएको शित भण्डार सुरुवाती चरणमा एउटा मात्र चेम्बर सञ्चालनमा रहेपनि अहिले सामानहरू प्रयाप्त मात्रामा भएका कारण पाँच वटै चेम्बरहरू भरिएका छन् ।

२० करोड ९८ लाखको लागतमा डेढ बिघा जग्गामा क्षेत्रमा निर्माण गरिएको शीत भण्डारमा पाँच वटा चेम्बरहरू रहेका छन् । शीत भण्डारमा स्थानीय उत्पादनसहित रूपन्देही, गुल्मी, चितवनबाट आएका आलु, स्याउ, मकै,चना, जागर, टमाटले पाँच वटै चेम्बर भरिएको जिल्ला सहकारी सङ्घका अध्यक्ष विष्णु पौडेलले जानकारी दिनुभयो ।

उहाँले सञ्चालनको सुरुवातमा केहि कम मात्रामा सामानहरू आयत हुँदा पूर्ण क्षमतामा सञ्चालन हुन नसके पनि अहिले ७५-८० प्रतिशतले भरिएको, केही सामान अर्डर भएको र आउने क्रम पनि जारी रहेको बताउनुभयो । सञ्चालनको पहिलो वर्षमा पूर्ण क्षमतामा सञ्चालन आउन नसक्दा प्रशासनिक कार्य सञ्चालनमा केहि समस्या भएपनि अहिले त्यो समाधान भएको बताउनुभयो ।

गत वर्ष शीत भण्डार राम्रोसँग चल्न नसक्दा बरफ बेचेर भएपनि कर्मचारी पाल्नुपर्ने बाध्यता रहेकोमा अहिले पाँच वटै चेम्बर सञ्चालनमा आउदा वार्षिक आम्दानी बढ्ने देखिएको छ । जिल्ला सहकारी सङ्घको अगुवाईमा आधुनिक शीत भण्डार निर्माणका लागि सङ्घीय सरकारको ६०, स्थानीय तहको २० र सहकारी संस्थाको २० प्रतिशत लगानी छ । पछिल्लो समय जिल्लामा शीत भण्डार नहुँदा किसानहरूले उत्पादन गरेका कृषि उपजहरू भण्डारणका लागि जिल्ला बाहिर लैजानुपर्ने बाध्यता थियो ।

करिब २५ करोड लागत इष्टमेट रहेको शीत भण्डार निर्माणकाे लागि २० करोड ९८ लाखमा टेन्डर स्वीकृत भएको थियो । विक्याट विल्डर्स काठमाडाैँले १८ महिनामा निर्माण सम्पन्न गर्ने गरी २०७६ सालमा सम्झौता गरे पनि कोरोनाका कारण ४ वर्षपछि मात्र निर्माणको काम सम्पन्न भएको थियो ।