• १५ असार २०८१, शनिबार

सतहत्तर जिल्लाकै माटोको विवरण राखिँदै

blog

काठमाडौँ, जेठ २६ गते । माटोको विद्युतीय (डिजिटल) नक्सा सार्वजनिक गरेको झन्डै एक वर्षपछि सरकारले ‘डिजिटल स्वायल म्याप व्यवस्थापन कार्यविधि २०७८’ कार्यान्वयनमा ल्याएको छ । 

कार्यविधि आएपछि सो नक्सामा ७७ वटै जिल्लाको अभिलेख राखिने भएको छ । विद्युतीय माटो नक्साका लागि वेब पोर्टल सञ्चालन गरिएको छ । घरै बसेर सो पोर्टलमार्फत नक्साको आधारमा एक क्लिकमा आफ्नो खेतको माटोबारे सम्पूर्ण जानकारी लिन सकिन्छ । सो कार्यविधि २०७८ चैतमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयले स्वीकृत गरेपछि २०७९ वैशाखदेखि कार्यान्वयनमा आएको हो ।

 तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सो विद्युतीय नक्सा २०७७ फागुनमा उद्घाटन गर्नुभएको थियो ।  कार्यविधि आइसकेपछि नक्सालाई पूर्ण रूपमा सञ्चालन तथा त्यसलाई अपडेट (अद्यावधिक) गर्न सजिलो भएको राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रका प्रमुख श्रीप्रसाद विष्टले बताउनुभयो । 

माटोको उर्वर शक्तिसम्बन्धी विभिन्न जानकारी सङ्कलन तथा अभिलेखीकरणका लागि विद्युतीय माटो नक्सा व्यवस्थापनका लागि यो कार्यविधि कार्यान्वयमा आएको उहाँले बताउनुभयो । 

यो नक्सा उद्घाटन गर्दा ५६ जिल्लाको माटोसम्बन्धी जानकारी तथा अभिलेख राखिएको थियो, यो असार मसान्तभित्र ७७ वटै जिल्लाको अभिलेख राखिसक्ने प्रमुख विष्टले बताउनुभयो । विद्युतीय नक्सा सार्वजनिक गरेको सुरुको समयमा यो पोर्टलमा महिनाको तीन हजारदेखि चार हजारसम्म भिजिटर हुने गरेकामा अहिले महिनाको तीन सयदेखि चार सयमा झरेको उहाँले जानकारी दिनुभयो । 

माटोसम्बन्धी विद्युतीय नक्सा हेरेपछि त्यसबाट चाहिने तथ्याङ्क सङ्कलन गरेर राखेपछि पटकपटक हेर्नुपर्दैन, मानौँ कुनै किसानले आफ्नो खेतको माटोबारे एक पटक जानकारी लिइसकेपछि पुनः त्यही माटोका लागि पटकपटक नक्सा हेर्दैन, त्यस्तै कुनै अनुसन्धानकर्ताले नक्सा हेरेर उसलाई चाहिने तथ्याङ्क लिइसकेपछि फेरि त्यही तथ्याङ्कका लागि विद्युतीय नक्सा खोलेर हेर्दैनन् । यसरी बिस्तारैबिस्तारै भिजिटर कम भएको हो,” उहाँले भन्नुभयो ।लक्षित समूहले अझै विद्युतीय नक्सा भिजिट गरिरहेको बताउँदै उहाँले ७७ वटै जिल्लाको अभिलेख राखिसकेपछि भिजिटर अझै बढ्ने आफूले विश्वास लिएको उहाँले बताउनुभयो ।