• २९ फागुन २०८२, शुक्रबार

पाथीभरा याङ्वरक गाउँपालिकाद्वारा उत्कृष्ट किसान पुरस्कृत

blog

पाथीभरा याङ्वरक गाउँपालिकाद्वारा आयोजित कार्यक्रममा सम्मानित हुनुभएका उत्कृष्ट किसानहरू । तस्बिर: चन्द्र पन्दाक

चन्द्र पन्दाक

ताप्लेजुङ, फागुन २९ गते । ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकाले आफ्नो नवौँ स्थापना दिवसको अवसरमा उत्कृष्ट कृषकहरूलाई पुरस्कृत गरेको छ । गाउँपालिकाले कृषि क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने विभिन्न वडाका चार जना किसानलाई नगद र सम्मानपत्रसहित पुरस्कृत गरेको हो।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्रकमल श्रेष्ठका अनुसार पुरस्कृत हुनेहरूमा वडा नं. १ नाङ्खोल्याङका कुलराज न्यौपाने र वडा नं. २ थेचम्बुका तुलाराम भट्टराई रहनुभएको छ । त्यसैगरी, वडा नं. ३ तिरिङ्गेकी कृषक सम्झा लिम्बू र वडा नं. ६ थुम्बेदिनका रामकुमार भण्डारीलाई पनि उत्कृष्ट किसानका रूपमा पुरस्कृत गरिएको छ ।

पुरस्कृत किसानहरूलाई जनही ५० हजार रुपैयाँ नगद र सम्मानपत्र प्रदान गरिएको छ । गाउँपालिकाका अध्यक्ष केशरकुमार सुब्बा र उपाध्यक्ष रनमाया गुरुङले उहाँहरूलाई पुरस्कार तथा सम्मानपत्र वितरण गर्नुभएको थियो ।

खाद्यान्न बाली, तरकारी तथा फलफूल खेती र पशुपालनमा उदाहरणीय कार्य गरी कृषि क्षेत्रको विकासमा योगदान पुर्‍याएकाले उहाँहरूलाई प्रोत्साहित गर्न पुरस्कृत गरिएको गाउँपालिकाका अध्यक्ष सुब्बाले बताउनुभयो । उहाँका अनुसार पालिकाभित्रका किसानको जीवनस्तर उकास्न र उनीहरूलाई आत्मनिर्भर बनाउन गाउँपालिकाले विभिन्न अनुदान र प्राविधिक सहायताका कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।