• ८ जेठ २०८१, मङ्गलबार

चितवनमा भेटियो छिमेकी चरा

blog

नारायणगढ समाचारदाता

नारायणगढ, जेठ २६ गते । चीन र भारतमा पाइने ‘चाइनिज पोन्ड हेरोन’ प्रजातिको चरा चितवनमा पनि भेटिएको छ । चरा विज्ञहरूले भेटेको यो चरा नेपालमा पहिलो पटक देखिएको चराका क्षेत्रमा लामो समयदेखि अध्ययन अनुसन्धान गर्दै आउनुभएका वासु बिडारीले जानकारी दिनुभयो । 

चितवनको खैहरनी नगरपालिका–११ स्थित गैडहवामा पहिलो पटक यो चरा भेटिएको हो । बकुल्ला जातको यो चरा फेला परेसँगै नेपालमा भेटिने चराको प्रजातिको सङ्ख्या बढेको छ । नेपालमा हालसम्म ८९० प्रजातिका चरा भेटिएको अभिलेख रहेको छ । तीमध्ये चितवनमा मात्रै ६५० प्रजातिका रहेका बताइन्छ ।

सौराहाका नेचर गाइड तथा फोटोग्राफर राजु तामाङले जुलाई १ तारिखमा पहिलो पटक यो चरालाई देखेपछि उहाँले रियर वर्ड कमिटीसँग परामर्शमा पुग्नुभएको थियो । कमिटीले प्रमाणित गरेसँगै नयाँ प्रजातिको चरा नेपालमा पनि सूचीकृत भएको बिडारीले बताउनुभयो । 

‘चाइनिज पोन्ड हेरोन’ एक किसिमको  फिरन्ते चरा हो । चीनको पूर्वी भेग, भारतको पूर्वी र दक्षिणी भेग तथा भियतनाममा यो चरा पाइएको छ । विशेष त माछा, भ्याकुतालाई आफ्नो आहारा बनाउने यो चरा सिमसार क्षेत्रमा बस्न रुचाउने गर्छ । “यो चरा अहिले एक्लै देखिएको छ, यसले आफ्नो बथान छाडेर एक्लिएको हुन सक्छ,” वर्ड एजुकेसन सोसाइटी चितवनका पूर्वअध्यक्ष बिडारीले भन्नुभयो ।