काठमाडौँ, वैशाख २१ गते । सरकारले विशेष आर्थिक क्षेत्र (सेज) र धौवादी फलाम कम्पनीलाई सार्वजनिक–निजी साझेदारी (पिपिपी) अवधारणामा सञ्चालन गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममार्फत यस्तो घोषणा गरिएको हो ।
मुलुकमा उत्पादन बढाउने, निर्यात गर्ने, रोजगारी सिर्जना गर्ने र स्वदेशी/विदेशी लगानी भित्र्याएर आर्थिक समृद्धि हासिल गर्ने उद्देश्यले सेजको स्थापना गरे पनि हालसम्म भैरहवा र सिमरा सेज स्थापना भई उद्योग सञ्चालन भए पनि अन्य स्थानमा भने सेज स्थापना हुन सकेको छैन । आगामी आवदेखि सार्वजनिक–निजी साझेदारीमा सेज सञ्चालन गर्नका लागि नीति तथा कार्यक्रममार्फत सार्वजनिक गरिएको हो ।
पूर्वसचिव कृष्ण ज्ञवालीले सेजलाई सार्वजनिक–निजी साझेदारी अवधारणामा सञ्चालन गर्ने सरकारको नीति राम्रो भएकाले यसलाई जतिसक्दो तीव्र रूपमा अगाडि बढाउनुपर्ने बताउनुभयो । निजी क्षेत्रले सेजमा उद्योग स्थापना गरी उत्पादित सामान निर्यात गर्ने भएकाले पनि पिपिपी मोडलमा जानु उपयुक्त रहेको उहाँको भनाइ छ ।
विशेष आर्थिक क्षेत्र प्राधिकरणका कार्यकारी निर्देशक ई. छत्र कटुवालले सरकारको लगानीले सेज स्थापना सञ्चालन गर्न कठिन भएको जानकारी दिनुभयो ।
काभ्रेको पाँचखालमा रहेको सेजको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार गर्न छ अर्ब र सिमराको सेजमा सात अर्ब लगानी लाग्ने भएकाले पनि सरकारको लगानीले नपुग्ने हुँदा पिपिपी मोडलमा सञ्चालन गर्न लागिएको उहाँले जानकारी दिनुभयो ।
काभ्रेको पाँचखालमा रहेको सेज र सिमराको ‘बी’ र ‘सी’ ब्लकलाई पिपिपी मोडलमा सञ्चालन गर्न मन्त्रीपरिषद्ले निर्णय गरिसकेको प्राधिकरणले जनाएको छ । सेजलाई ३० वर्ष जग्गा भाडामा लिएर पिपिपी मोडलमा विकास र सञ्चालन गरी हस्तान्तरण गरिने छ । सरकारले सातै प्रदेशमा एक/एक वटा सेज स्थापना गर्ने योजना बनाए पनि हालसम्म दुई वटा सेज स्थापना भई पूर्ण रूपमा सञ्चालनमा आएका अन्य ठाउँमा भने स्थापना हुन सकेको छैन ।
भैरहवा र सिमरा सेज स्थापना भई उद्योग सञ्चालन भए पनि अन्य चार ठाउँमा विराटनगर, गोरखा, कैलाली र नुवाकोटमा निर्माण सुरुसमेत नभएको महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनमा उल्लेख छ ।
प्राधिकरणका अनुसार ५२ बिघामा फैलिएको भैरहवा सेजमा २७ वटा उद्योगले सञ्चालनको अनुमति पाएका छन् । अनुमति पाएका उद्योगमध्ये १० वटा उद्योगले उत्पादन सुरु गरिसकेका र १७ वटा निर्माणाधीन अवस्थामा छन् । भैरहवा सेजमा एक हजार पाँच सय वर्गमिटरसम्मका ६९ वटा प्लटहरू रहेका छन् । सेजभित्र एलइडी बत्ती, स्टिलका भाँडाकुँडा, स्टिल ट्याङ्की, प्लास्टिकमा सामान, गलैँचा, छालाका सामान, फर्निचर उद्योग सञ्चालनमा छन् ।
यस्तै सिमरा सेजमा ३० वटा उद्योगले सञ्चालनको अनुमति पाएकामा पाँच वटा सञ्चालनमा रहेका र २५ वटा उद्योग निर्माणाधीन अवस्थामा छन् । सेजमा घरायसी उपकरण, खाद्य प्रशोधन, एसेम्बली, जैविक मल, तयारी पोसाक, चिकित्सा, टायल्स, मार्बल, घरायसी उपकरणलगायतका उत्पादन गर्ने उद्योग रहेका छन् ।
चार अर्बको निर्यात
भैरहवा र सिमरा सेजमा स्थापना भएका उद्योगबाट हालसम्म करिब चार अर्ब रुपियाँ बराबरको सामान निर्यात भएको छ । प्राधिकरणका अनुसार भैरहवा सेजबाट तीन अर्ब ९२ करोड रुपियाँ बराबरको सामान निर्यात भएको छ । पाँच सय जनाले रोजगारी पाएको र सेजभित्र सम्पूर्ण उद्योग सञ्चालन भए दुई हजार १९ जनाले रोजगारी पाउने अनुमान गरिएको छ ।