- खेती लगाउने बेला खडेरीले हैरान पार्छ अनि कुबेलामा बाढी आएर खेतीबारी कटान मात्र होइन, बस्ती नै बगाउँला जस्तो हुन्छ । नदी कटान र पहिरोले बस्ती जोखिममा छ । परम्परागत पेसा व्यवसाय सङ्कट अनि बस्ती नै उठ्नु पर्ने ? यो जलवायुको असरलाई के भन्ने ?
- नेपालको समग्र गाउँ र कृषिक्षेत्र नै जलवायु परिवर्तनको असरबाट बढी प्रभावित छ । बाज्रिल कोपले यस्ता समस्याको कसरी समाधान गर्न सक्यो ? कृषि तथा पशुपन्छी विकासमन्त्री डा. परियार ३० औँ कोप सम्मेलनमा सहभागिता प्रभावकारी भएको बताउनुहुन्छ ।
- विश्वतापमान १.५ डिग्री सेल्सियसको लक्ष्य साकार राख्न हरित अर्थतन्त्रतर्फ रूपान्तरणलाई प्राथमिकता दियो । आगामी दिनमा पनि जलवायुको बहुअसर न्यूनीकरणमा बढी नै ध्यान दिनु पर्छ ।
जलवायु परिवर्तनको असर विश्वभर छ । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिका पक्ष राष्ट्रहरूको सम्मेलन (कोप) भर्खरै मात्र ब्राजिलको बेलेम सहरमा सम्पन्न भयो । नेपालको कोपमा बर्सेनि सहभागिता छ । यो पटकको ३० औँ कोपमा पनि सहभागी भयो । सम्मेलनमा नेपालले कृषि तथा पशुपन्छी विकासमन्त्री डा. मदनप्रसाद परियारको नेतृत्वमा उच्चस्तरीय सहभागिता जनायो । सम्मेलनले नेपालले प्रभावकारी प्रस्तुति गरिएको दाबी गरिएको छ । त्यसका निम्ति तयारी गहन थियो । प्रतिफल बिस्तारै देखिँदै जाने हो तर नेपालको धेरै क्षेत्र जलवायु परिवर्तनका असर परिरहेको देखिएको छ । यस सम्बन्धमा यसै दैनिकको आइतबार अङ्कमा पाँचथर सम्पे्रषित समाचार छापिएको छ । हेवाखोला र तमोर नदी सङ्गमस्थल बसोबास गर्ने माझी समुदायको जनजीवनमा जलवायु परिवर्तनको असरले अनुसन्धानदातालाई धेरै जानकारी मिल्ने देखिन्छ । असर अब भान्सासम्म नै पुगेको छ । जलवायु परिवर्तनको असर बुझ्न यो समाचार सहयोगी छ । समाचार अनुसार पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकामा माझी समुदायको बस्ती परम्परागत पेसाबाट नराम्ररी विस्थापित हुँदै छ । केही वर्षयता यहाँका बालीनाली, वस्तुभाउ र मानिसमा फरक फरक समस्या देखिएका छन् । त्यसले स्थानीयवासी हैरान छन् । उनीहरूको जनजीविकामा प्रतिकूल असर थपिँदो छ ।
हेवाखोलाको माझीटार बस्तीमा ३६ घरधुरी छन् । माछा मारेर अनि डुङ्गा चलाएर जीवन निर्वाह गरिरहेको त्यस बस्ती अब परम्परागत पेसाबाट विस्थापित हुँदो छ । बाढी, पहिरो, अनियमित वर्षा र खडेरीले जीवनयापनमा प्रतिकूल प्रभाव परिरहेको छ । माझीटारकी मीना माझीको भनाइ मार्मिक छ । केही वर्षपहिलेसम्म धान, मकै, गहुँ, आलु राम्रै फल्ने माझीटारमा अब त्यसरी नै अन्नबाली फल्न छाडेको छ । बालीनालीमा रोग किरा लाग्न थालेको छ । बालीनालीबाट उब्जाउ मात्र कमी आएको छैन, खोलामा पनि माछा देखिनै छाडेका छन् । माझीका पुरुष सदस्य डुङ्गा खियाएर केही आर्जन गर्थे । पुल बनेपछि त्यो पेसा स्वाभाविक विस्थापनमा प¥यो । डुङ्गा खियाएर मानिस तार्ने काम बन्द भए पनि माछा मार्ने पेसाले सामान्य जीवन चलेकै थियो तर यताका दशकमा बाढी अति नै आउन थाल्यो । बाढीले कुलो बगाइदियो । कुलो नभएपछि वर्षामा धान मात्र होइन, हिउँदमा गहुँ र आलु खेती पनि हुन छाड्यो । अन्नबाली उत्पादन घटेपछि खान नै धौ धौ हुन थाल्यो । खेती लगाउने बेला खडेरीले हैरान पार्छ अनि कुबेलामा बाढी आएर खेतीबारी कटान मात्र होइन, बस्ती नै बगाउँला जस्तो हुन्छ । नदी कटान र पहिरोले बस्ती जोखिममा छ । परम्परागत पेसा व्यवसाय सङ्कट अनि बस्ती नै उठ्नु पर्ने ? यो जलवायुको असरलाई के भन्ने ?
माझी उत्थान सङ्घ पाँचथरका अध्यक्ष राम माझीको भनाइ गम्भीर छ । उहाँका अनुसार खोलामा माछा मासिँदै छन् । १५ वर्षअघिसम्म तमोर र हेवाखोला माछा प्रशस्त पाउँथे । जाल बोकेर एक/डेढ घण्टा निस्कँदा चार/पाँच किलोसम्म माछा ल्याउन सकिन्थ्यो । यताका वर्षमा दिनभरि खोलामा जाल हान्दा पनि एक किलो माछा भेट्न कठिन छ । डेढ दशकअघि १ जेठमै एकै रात ताप्लेजुङका विभिन्न स्थानमा पहिरो गयो । उक्त पहिरोपछि बगेको लेदो तमोरमा मिसिँदा आएको बाढीले ठुलो परिमाणमा त्यहाँका माछा बगायो । त्यसयता नदीमा माछा क्रमशः घट्दै गएका छन् । पशुपालनमा पनि अनेक समस्या बढेका छन् । पालिएका पशुमा रोगव्याधले हैरान पारेको छ । यी सबै जलवायु परिवर्तनका असर हुन् भन्ने जानकारको भनाइ छ । माझीटार समुदाय प्रतिनिधिमूलक गाउँ मात्रै हो । नेपालको समग्र गाउँ र कृषिक्षेत्र नै जलवायु परिवर्तनको असरबाट बढी प्रभावित छ । बाज्रिल कोपले यस्ता समस्याको कसरी समाधान गर्न सक्यो ? कृषि तथा पशुपन्छी विकासमन्त्री डा. परियार ३० औँ कोप सम्मेलनमा सहभागिता प्रभावकारी भएको बताउनुहुन्छ । कोपका विभिन्न सत्रमा नेपालले आफ्ना कार्यसूची प्रस्तुत गर्न सक्यो । यो पटकको सहभागिता सानो समूहले गरेको थियो । विश्वमञ्चमा ठुलो समूह जानु भनेको ठुलो खर्च पनि हो । नेपालले विकसित राष्ट्रहरूले विगतमा गरेका जलवायु वित्तसम्बन्धी प्रतिबद्धता पूरा गर्नुपर्नेमा विशेष जोड दियो । विश्वतापमान १.५ डिग्री सेल्सियसको लक्ष्य साकार राख्न हरित अर्थतन्त्रतर्फ रूपान्तरणलाई प्राथमिकता दियो । आगामी दिनमा पनि जलवायुको बहुअसर न्यूनीकरणमा बढी नै ध्यान दिनु पर्छ । तीन तहकै सरकार समन्वयमा काम गर्नु वाञ्छनीय छ ।