• ८ मंसिर २०८२, सोमबार

कहिले सुल्झेला मध्यपहाडी लोकमार्गको सास्ती

blog

मध्यपहाडी लोकमार्गअन्तर्गत बिहुँखण्डको कच्ची र हिलाम्य सडक । तस्बिर : रामकृष्ण बोहरा

रामकृष्ण बोहरा
बागलुङ, मङ्सिर ८ गते ।
सडकको ट्रयाक खुलेको २५ वर्ष भइसक्यो । सडक कालोपत्र नभएर स्थानीय हैरान छन् । गत महिना बागलुङको काठेखोला गाउँपालिका वडा नं. ५ र ६ बिहुँका बासिन्दाले यो पटक पनि सडक ठप्प पार्ने चेतावनीबाट पछि हटेका छन् । सडक स्तरोन्नतिसँगै कालोपत्रको काम थाल्ने पहल भएपछि मङ्सिर १ गतेदेखि ठप्प पार्ने भनिएको सडकमा चल्न दिएका छन् ।

यो उनीहरुको कमजोरी होइन, बरु संयम देखाएको अवस्था हो । ठेकेदार पक्षले काम गर्ने सहमतिपछि बिहुँबासीले यो संयम देखाएको बताउछन् । अब ठेकेदारले नियमित काम गर्ने मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयको प्रतिवद्धतापछि घोषित आन्दोलन रोकिएको छ । आन्दोलन नगरेका अर्को सडक खण्डका बासिन्दा पनि जीर्ण सडकबाट आजित छन् । गलकोट तर्फको झण्डै ३० किमी सडक पनि जीर्ण छ ।

यो खण्ड बन्दै नबनेको कारणले जति स्थानीय आक्रोसित छन्, पटक पटक बनेर पनि जीर्ण भएको गलकोट खण्डमा पनि स्थानीय आक्रोसित बनेका हुन् । उनीहरुले पनि पटक पटक राज्यको ध्यानाकर्षण गरेका छन् । लोकमार्गको गलकोट खण्ड पनि छियाछिया छ । दैनिक पश्चिम नेपालको रुकुम, जाजरकोट र डोल्पा सम्मका सवारी गुड्ने सडक जीर्ण भएपछि दुर्घटनाको जोखिम समेत बढेको छ ।

२०६८ सालदेखि थालिएको आयोजनाको काम पटक पटक अलपत्र पर्दा यात्रीले सास्ती खेप्ने कुरा नौलो होइन । तर रात्री बसहरुको यात्रा जोखिमको सडकमा गरिरहेपनि राज्यका निकाय मौन बस्नु झन् आश्चर्य भएको गलकोट नगरपालिका वडा नं. २ का अध्यक्ष हिमबहादुर भण्डारी बताउनुहुन्छ । ‘‘हिउँदभर कुरा गरिरहन्छौं, वर्षात् लागेपछि कता–कती मर्मत गरिन्छ र छाडिन्छ ।’’ यो सडक खण्ड नै साँघुरो र जोखिमपूर्ण बनेको भण्डारीले बताउनुभयो ।

मध्यपहाडी लोकमार्गले केही खण्ड हस्तान्तरण गरेर सडकमा पुगेको छ । तर हस्तान्तरण नै नभएको खण्डले बढी सास्ती भएको स्थानीयको भनाइ छ । ठेकेदारले वर्षौदेखि सडक अलपत्र पार्दा मानिस मात्र नभइ पशु चौपायाले पनि घाँस नखाने समस्या भएको काठेखोला गाउँपालिका–६ का अध्यक्ष वृहस्पति कँडेलले बताउनुभयो ।

‘‘ठेकेदारले काम अलपत्र पारिदिँदा हाम्रा गाईभैँसी पनि बिरामी परेका छन्, मानिसमा फोक्सोको समस्या देखापरेको छ’’ कँडेलले भन्नुभयो, ‘‘बाटो त बनेन्, हाम्रा नागरिक र पशुधनको समस्याको क्षतिपूर्ति कसले दिने ?’’ दैनिक विद्यालय जाने विद्यार्थीदेखि बिरामी र ज्येष्ठ नागरिक धुलो र हिलोको बढी सास्तीमा परेको उहाँले सुनाउनुभयो ।

सडक स्तरीय बनाउँदा यात्रीले मात्र नभइ स्थानीयले पनि सहज महसुस गर्ने वडाध्यक्ष कँडेलको भनाइ छ । स्थानीय अमर मावि, भीमसेन मावि, खोलातिर प्रावि, हिमालय आधारभूत विद्यालय, लालीगुराँस बोर्डिङसहित काठेखोला–५ र ६ का स्वास्थ्य चौकी समेत सडकको समस्याबाट प्रभावित छन् । विद्यालयमा प्रार्थना समेत गराउन समस्या पर्ने गरेको अमर माविका प्रअ भिष्म कँडेलले गुनासो गर्नुभयो ।

लोकमार्गको बिहुँ घोडाबाँधे खण्डमा सूर्यं क्नस्ट्रक्सन कम्पनीले ठेकका लिएको थियो । २०७२ माघ १० को ठेक्काको कामबाट नौ वर्षमा ५५ प्रतिशत प्रगती समेत देखाउन नसकेपछि कालोसूचीमा परेर रद्द भई गतवर्ष रिजाल तामाङ भगवती जेभीले ठेक्का लिएको थियो । २०८१ असारमा सम्झौता गरी २०८३ असारमा सक्ने सम्झौता गरेको डेढ वर्षपछि मात्र काममा आएको छ ।

सोही सडकको अर्को खण्ड ठेक्का लिएको सिद्धिसाई भारत जेभीले पनि काम नगरेपछि स्थानीय राजु गौतमले पेटी ठेक्का लिएकोमा भुक्तानीमा समस्या भएपछि काम अगाडि बढाउन सक्नुभएको छैन । मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयका इन्जिनियर ऋषि गौतमले नियमित काम गरेर सक्ने लक्ष्य राखिएको सुनाउनुभयो । दुई साताअघि प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङसहित सुरक्षा प्रमुख समेत काठेखोला पुगेर सडक निर्माणमा ठेकेदारलाई काम गर्न बाध्य पार्नुभएको थियो ।