• २४ वैशाख २०८१, सोमबार

टाटासुमो दुर्घटना हुँदा पाँच घाइते

blog

जनार्जन खत्री
सर्लाही, जेठ २५ गते ।
सर्लाहीको लालबन्दीमा बुधबार बिहान टाटासुमो दुर्घटना हुँदा एकै परिवारका चारसहित पाँच जना घाइते भएका छन् ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत लालबन्दी नगरपालिका–१, नवलपुरस्थित बागवानी लच्का नजिकै ज १ च ९६२ नम्वरको टाटासुमो आफैँ अनियन्त्रित भइ दुर्घटनामा परेको हो । सो दुर्घटनामा टाटासुमो चालक धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१३, पिडारी चोक बस्ने ४० वर्षीय दिलीपकुमार महरा, टाटासुमोका धनी जनकपुरधाम उपमहानगरपालिका–१४, रजौल बस्ने ५९ वर्षीय श्रीराम साह, उहाँकी श्रीमती ४५ वर्षीया राजवती साह, छोरी २५ वर्षीया कृति साह र छोरा २० वर्षीय शिरिसकुमार साह घाइते हुनुभएको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ ।

चिउडो र छातीमा चोट लागेर घाइते हुनुभएका टाटासुमो चालकको अवस्था गम्भीर छ भने  अन्य घाइतेहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

पाँचैजना घाइते लालबन्दीमा सामान्य उपचारपछि थप उपचारका लागि जनकपुर पठाइएको इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक शान्तराम कार्कीले जानकारी दिनुभयो ।

उहाँका अनुसार जनकपुरबाट स्वास्थ्य परीक्षणका लागि आफ्नै गाडीमा भरतपुरतर्फ हिँडेकाे साह परिवार बुधबार बिहान २ः४५ बजेतिर दुर्घटनामा परेको हो ।

चालकले आफू निदाएका कारण टाटासुमो अनियन्त्रित भइ नजिकैको रुखमा गएर ठोक्किएको प्रहरीसमक्ष बताएका छन् ।